२८ साउन, काठमाडौँ । नवलपरासीको दाउन्नेमा सडक भत्किएको छ । प्रहरीका अनुसार नवलपरासीको पहाडी क्षेत्रमा पहिरो र समथर क्षेत्र जलमग्न भएको छ । शुक्रबारदेखि लगातारको वर्षाका कारण नवलपरासीको दाउन्ने पहाडमा सडक भासिएको छ भने जिल्लाको समथर भुभाग डुबानमा परेको छ । दाउन्नेमा शुक्रबार राति १० बजे सडक भासिएपछि पुर्वपश्चिम राजमार्ग ठप्प भएको छ । गन्तव्यका लागि हिडेका हजारौं यात्रुहरु बिच बाटोमा अलपत्र परेका छन् । बर्दघाट एस मोडदेखि झण्डै २ किलोमिटर क्षेत्रमा सडक भासिएपछि आवागमन सुचारु गर्न कठिनाइ भएको हो । जिल्ला ट्राफिक प्रहरी प्रमुख धर्मेन्द्र रावलले प्रहरीले दर्जनौं स्थानमा पहिरो गएको तथा १० मिटर जति लम्बाइको सडक भासिएका कारण यात्रुहरुलाई वैकल्पिक बाटोको प्रयोग गर्न सुझाव दिएको बताएका छन । दाउन्ने पूर्व दुम्किबास र अरुणखोलाको जंगलसम्म तथा पश्चिममा बर्दघाट भुतहासम्म झण्डै २० किलोमिटरसम्म सवारी साधनको लाम लागेको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७४