२६ साउन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै मिलेर नेपालमा विद्यमान बालविवाह, दाइजो प्रथा, बालश्रम, छाउपडीजस्ता विभिन्न प्रकारका कुरीति र परम्पराको अन्त्य गर्नुपर्ने बताएकी छिन । सामुदायिक रेडियो प्रसारक संघ नेपाल र वल्र्ड भिजनले संयुक्तरूपमा शुरु गरेको बालविवाह अन्त्यको अभियानको काठमाडौँमा शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले समाजमा व्याप्त कुप्रथाले देशको समग्र आर्थिक विकासमा नै नकारात्मक प्रभाव पारेको हुँदा सबै मिलेर त्यसको अन्त्य गर्नुपर्ने बताइन । राष्ट्रपति भण्डारीले भनिन, “बालविवाहका कारण बालबालिकाको मानव अधिकार हननमात्र भइरहेको छैन यसले मुलुकको समग्र पक्षलाई असर गरेको छ, त्यसैले सबै मिलेर बालबालिकालाई उचित शिक्षा दीक्षा प्रदान गर्ने अवसरको सिर्जना गर्दै मानवअधिकारको प्रत्याभूति गराउनुपर्छ ।” विशेषगरी बालिका र महिलाको सन्दर्भमा बालविवाहले एउटामात्र अधिकारको उल्लंघन नगरी उनीहरूको जीवनचक्र नै हिंसामा पर्ने गरेको भन्दै राष्ट्रपति भण्डारीले दृढसंकल्प गरी सबै मिलेको खण्डमा आधुनिक सभ्यतालाई नै कलंकित बनाउने बालविवाहजस्ता कुप्रथाको अन्त्य गर्न सकिने विश्वास व्यक्त गरिन ।
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बालविवाह अन्त्यका लागि अभियान सञ्चालन, कानूनको कडा कार्यान्वयन र सामाजिक सोचमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । सामुदायिक रेडियो प्रसारक संघ नेपालका अध्यक्ष सुवास खतिवडाले ‘नेपाली जुटौँ बालविवाह रोकौँ’ भन्ने मूल नाराका साथ शुरु गरिएको अभियान पाँच वर्षसम्म सञ्चालन हुने जानकारी दिए । युनिसेफको तथ्यांकअनुसार संसारमै दक्षिण एसियामा बालविवाहको दर सबैभन्दा उच्च छ । सन् २०१६ को तथ्यांकअनुसार नेपालमा एक तिहाइभन्दा बढी बालिका अर्थात् ३७ प्रतिशत बालिकाले १८ वर्ष उमेरभन्दा पहिला र १० प्रतिशतले १५ वर्ष उमेरभन्दा पहिला विवाह गरिसक्छन् ।
प्रकाशित मिति: बुधबार, साउन २५, २०७४