–आदित्य दाहाल
२६ साउन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको उत्तरी क्षेत्रमा रहेको मानेखर्क चौकी भूकम्प गएको २७ महिना बितिसक्दा पनि निर्माण हुन सकेको छैन । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले प्रहरी चौकी रहेको घर भत्किएपछि शान्ति सुरक्षाको लागि खटिएका मानेखर्क चौकीका प्रहरी अहिले पनि टेण्टमै छन् । इलाका प्रहरी कार्यालय, मेलम्चीको मातहतमा पर्ने पाँचपोेखरी थाङ्पाल गाउँपालिकामा रहेको एकमात्र चौकी अहिलेसम्म पनि पुनःनिर्माण हुन नसक्दा प्रहरीले पालबाट नै २४ घण्टे सुरक्षा दिइरहेको मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिए । प्रहरी चौकी निर्माणका लागि आन्तरिक स्रोत केही नभएकाले आफैँ चौकी निर्माण गर्न नसकिने मानेखर्क प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कालुमान दनुवारले बताए ।
डिएफआईडी नामक अन्तरराष्ट्रिय गैरसरकारी संस्थाले चौकी निर्माण गरिदिने भनेर सम्झौता गरेपनि अहिलेसम्म निर्माण कार्य शुरु नभएको दनुवारले बताए । चौकी निर्माण नहुँदा कुनै पनि आपराधिक क्रियाकलापमा संलग्नलाई थुनेर राख्ने ठाउँसमेत नभएको प्रहरी गुनासो छ । थुनुवा राख्ने ठाउँ नहुँदा कुनै पनि घटनामा संलग्न अभियुक्तलाई करिब पाँच घण्टाको बाटो हिँडाएर इलाका प्रहरी कार्यालय, मेलम्चीसम्म लैजानुपर्ने बाध्यात्मक परिस्थिति रहेको प्रहरीको भनाइ छ । मानेखर्क चौकीमा कार्यरत प्रहरी भन्छन्– दिनभरि ड्युटी सकेर आयो, राति पानी चुहिने, शीत चुहिने, चिसो हुने भएपछि प्रहरीको काम गर्ने मनोबलमा समेत नराम्रो असर परिसकेको छ । एउटा टेण्टभित्र सातजना सुत्नुपर्ने तथा आफ्नो सामानसमेत राख्दा साँघुरो भएर धेरै कष्टकर भएकोे प्रहरीको भनाइ छ । एउटा टेण्टमा कार्यालय राख्नेदेखि लिएर सुत्नेसम्मको कार्य गर्नुपर्ने बाध्यता रहेको प्रहरीले गुनासो गरेको छ । एउटा पूरै गाउँपालिकाको सुरक्षाको लागि रहेको प्रहरी चौकीको अहिलेसम्म पनि निर्माण हुन नसक्नु निकै विडम्बना भएको स्थानीय मानेखर्कका समाजसेवी शंकर लामा बताउँछन ।
प्रकाशित मिति: बुधबार, साउन २५, २०७४