२३ साउन, रसुवा । रसुवा जिल्लाको उत्तरगया गाउँपालिकाको पहिरबेसीमा पहिरोले घर पुरिँदा ४ जना वेपत्ता भएका छन् । आइतबार राति उत्तरगया गाउँपालिका–४ मा खसेको पहिरोले ७२ वर्षका धर्मबहादर थापा, उनकी वुहारी मुना, ४ वर्षका नाती रबिन र सहयोगी ७८ वर्षका भक्तबहादुर नगरकोटी वेपत्ता भएका छन । रसुवाका प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईंले पहिरोमा परेर घाइते भएका ४ जनाको उद्धार गरिएको र उनीहरुमध्ये रुद्र थापा मगर र देवकी थापा मगरको नुवाकोटको शान्तिवजार स्वास्थ्य संस्थामा उपचार भैरहेको जानकारी दिए । उनले ठूलो पहिरो गएकाले मानिसले मात्र पन्छाउन नसक्ने भएपछि सडक डिभिजन कार्यालय र निजी क्षेत्रको पहलमा स्काभेटर पठाएको बताए । तर मोटरबाटो नभएकाले घटनास्थलमा स्काभेटर पुग्न कठिन भएको छ । पहिरो गए लगत्तै माथिल्लो त्रिसुली थ्री ए जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएका श्रीनाथ गणका २५ जना नेपाली सेनाको टोली घटनास्थलमा पुगेको थियो ।
प्रकाशित मिति: आइतबार, साउन २२, २०७४