काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेशका पहिलो प्रमुख मोहनराज मल्लको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
उनले आज शोक विज्ञप्तिमार्फत पूर्वप्रदेश प्रमुख, समाजसेवी एवं बौद्धिक व्यक्ति मल्लको असामयिक निधनको खबरले आफूलाई दुःखी बनाएको उल्लेख गरेका हुन् ।
मन्त्री आलेले मल्लप्रति श्रद्धाञ्जलि अर्पण गर्नाका साथै शोकसन्तप्त परिवारजनमा आफ्नातर्फबाट समवेदनासमेत प्रकट गरेका छन् । पूर्वप्रदेश प्रमुख मल्लको काठमाडौँस्थित निदान अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो ।
पहिले राप्रपाको राजनीति गरेका मल्ल विसं २०७० को दोस्रो संविधानसभाअघि नेपाली काँग्रेस पार्टी प्रवेश गरेका थिए । विसं २०७४ माघ ३ गते प्रदेश प्रमुख नियुक्त भएका मल्लका एक छोरा र एक छोरी छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८