धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको हो ।
सोमबार एमालेको स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो । साथै एमालेबाट मन्त्री भएकाहरूलाई २४ घण्टाभित्र फिर्ता नभए कारबाही गर्ने चेतावनीसहित निर्देशन जारी गरिएको थियो ।
कोभिड–१९ महामारी लगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने र यसबारे सबै दलहरुसँग छलफल गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य पूर्णा जोशीले जानकारी दिइन् ।
स्थायी कमिटीलाई चुनौती दिंदै समर्थन फिर्ता नलिने निर्णय गरेपछि माओवादी नेतृत्वको सुदूरपश्चिम सरकारको संकट टरेको छ । सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसद छन् । आज (बुधबार) को बैठकमा २१ जना सहभागी थिए ।
प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८