काठमाडौँ। पूर्वसभामुखहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताएका छन् । आज (मंगलबार) सभामुख अग्निप्रसाद सापकोटाले नयाँ बानेश्वरमा पूर्व सभामुखसँगको अन्तरक्रियामा उनीहरुले यो कुरा बताएका हुन् ।
सरकारले दोश्रो पटक प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि सभामुख सापकोटाले पूर्व सभामुखहरूसँग परामर्श लिइरहेका छन् ।
बैठकमा सहभागी पूर्वसभामुखहरुले संविधानअनुसार सरकार गठनका सबै विकल्प प्रयोग नभई संसद विघटन गरिएको दाबी गरेका हुन् । ‘जनताको प्रतिनिधि संस्थामाथि दुई–दुई पटक आक्रमण भयो, यो असंवैधानिक छ । जनताप्रति उत्तरदायी कदम होइन,’ छलफलमा सहभागी पूर्वसभामुख ओनसरी घर्ती मगरले जानकारी दिइन् ।
बैठकमा पूर्वसभामुख घर्तीसँगै कृष्णबहादुर महरा र रामचन्द्र पौडेल उपस्थित थिए भने एक जना भर्चुअल माध्यमबाट उपस्थित थिए । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ भने बैठकमा उपस्थित थिएनन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८