काठमाडौँ । विपक्षी पाँच दलको गठबन्धनले सोमबार सर्वोच्च अदालतमा दायर गरेको रिटमा माधव कुमार नेपाल पक्षका चार सांसदले हस्ताक्षर गरेनन् ।
संविधानको धारा ७६(५) बमोजिम नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका नेपाल पक्षका चार सांसदले सर्वोच्चमा दर्ता भएको रिटमा भने हस्ताक्षर गरेका छैनन् ।
गोकर्ण विष्ट, पवित्रा निरौला खरेल, गणेश पहाडी र राजबहादुर बुढाले देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको रिटमा हस्ताक्षर नगरेका हुन्।
काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १४९ जनाको सूचीमा रहेका चार जनाले सर्वोच्चमा दर्ता भएको रिटमा भने हस्ताक्षर गरेनन् । यस्तै देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेकी नेपाल पक्षकै कलिला खानले भने सर्वोच्चमा दर्ता भएको रिटमा हस्ताक्षर गरेकी छन् ।
त्यस्तै नेपाल पक्षकै योगेश भट्टराई भने देउवाको पक्षमा पहिले पनि थिएनन् र सर्वोच्चको रिटमा पनि उनले हस्ताक्षर गरेनन् ।
माधव नेपाल पक्षका सात जना सांसदले भने वैशाख २७ मा प्रधानमन्त्री केपी शर्मा ओलीकै पक्षमा मतदान गरेका थिए ।
नेपाली काँग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमाले माधव नेपाल पक्षका २३, जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षका १२ र राष्ट्रिय जनमोर्चाका एक गरी १४६ जनाले सोमबार हस्ताक्षर गरेर सर्वोच्चमा रिट दर्ता गरेका हुन्।
प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८