काठमाडौँ - निर्वाचन आयोगमा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका युवा नेताहरुले राजनीतिक दल दर्ताको लागि निवेदन दिएका छन् ।
युवा नेता जीवन राई अध्यक्ष रहेको सो दलको नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) राखिएको छ । उनी माधव पक्षमा रहेका अनेरास्ववियूका पूर्व विद्यार्थी नेता समेत हुन् । गत वैशाख ७ गते दल दर्ताको निवेदन परेपनि दर्ता हुने क्रममा रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
२५ सदस्यीय केन्द्रीय कमिटी रहेको सो दलमा अध्यक्षमा जीवन राई, कल्पना गुरुङ उपाध्यक्ष, बिनोद कुमार खुलाल महासचिव, ऐन बिक्रम कुँवर सचिव र सुशीला खनाल कोषाध्यक्ष रहेका छन् ।
दल दर्ताका लागि पेश गरेको कागजात अध्ययन गर्ने काम भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनले भने–‘दल दर्ताका लागि प्राप्त निवेदन र कागजात अध्ययन गर्ने काम भइरहेको छ ।
पार्टीको विधान, घोषणापत्र, केन्द्रीय कमिटी बैठकका माइन्यूट, पदाधिकारीको हस्ताक्षरको सनाखत लगायतको अध्ययन भइरहेको छ । सबै प्रक्रिया पुगेको रहेछ भने आयोगको निर्णयबाट दल दर्ता हुन्छ ।
प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८