काठमाडौँ । सरकार गठनका लागि आवश्यक सांसदहरूको सङ्ख्या सुनिश्चित गरिएको दाबीसहित विपक्षी दलहरू १४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा बुझाएर फर्किएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकारको गठनलाई दिएको समय सकिन लाग्दा नेकपा एमालेबाट केपी शर्मा ओली र विपक्षी गठबन्धनबाट काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा आ-आफ्नो दाबी पेश गरेका छन् ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका भट्टराई-यादव पक्षका सांसद र एमालेका नेपाल समूहका नेताहरूको हस्ताक्षरसहित नेताहरू शीतल निवास पुगेका थिए।
उनीहरूले नेपाली काँग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाका १२, नेकपा एमालेको माधव नेपाल समूहका २६ सांसद र राष्ट्रिय जनमोर्चाका एक सांसदले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका थिए।
यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक सय ५३ जना सांसदको आफूलाई समर्थन रहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेश गरेर फर्किसकेका थिए । गठबन्धनहरू पुग्नुभन्दा पहिला नै शीतल निवासमा पुगेका ओलीले एमालेका एक सय २१ र जनता समाजवादी पार्टीका ३२ सांसदको समर्थन आफूलाई रहेको दाबी पेस गरेका हुन्।
प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८