काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । वाग्मती प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनको मौन अवधिमा नेकपा (एमाले) का उम्मेदवार रामबहादुर थापाको पक्षमा विज्ञप्ति जारी गरेर मत मागेको भन्दै प्रधानमन्त्री र शिक्षामन्त्रीविरुद्ध उजुरी परेको हो ।
निर्वाचन आयोगमा प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार एक उजुरीको निवेदन प्राप्त भएको जानकारी दिए । उनले भने, एउटा उजुरीको निवेदन दर्ता भएको । त्यसको अध्ययन हुन्छ । उजुरीमा उल्लेख भएका विषयको अध्ययन गरेपछि अन्य कार्य अघि बढ्छ ।
प्रधानमन्त्री र शिक्षामन्त्रीले वाग्मती प्रदेश राष्ट्रिय सभा उपनिर्वाचनको लागि जारी गरिएको मौन अवधिमा प्रचार गरेर निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै कांग्रेसले आयोगमा उजुरी दर्ता गराएको हो ।वाग्मती प्रदेशबाट राष्ट्रिय सभामा रिक्त रहेको एक सिटमा आज मतदान भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८