१८ साउन, काठमाडौँ । चितवनको भरतपुर महानगरपालिको मेयरमा कांग्रेस र माओवादीको तर्फबाट उम्मेदवार बनेकी रेणु दाहाललाई फेसबुकमा गाली गर्ने एक युवा पक्राउ परेका छन । प्रहरीले काठमाडौँको पुतलीसडकबाट चितवनका निरव ज्ञवाली नामका युवालाई पक्राउ गरेको हो । उनले दाहालका विरुद्धमा फेसबुकमा अश्लिल शब्द प्रयोग गर्दै गाली गरेका थिए । महानगरीय अपराध महाशाखाको टोलीले बुधबार निरवलाई पुतलीसडकबाट पक्राउ गरेको महाशाखाका एसपी प्रकाशजंग कार्कीले पुष्टि गरेका छन । ज्ञवालीविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा असारको पहिलो साता दाहालका श्रीमान् अनिलकुमार पाठकले किटानी जाहेरी दिएका थिए ।

उनले निरवसँगै एसवी बोहराका विरुद्धमा पनि किटानी जाहेरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरीले झण्डै डेढ महिनापछि ज्ञवालीलाई पक्राउ गरेको हो । अब उनलाई साइबर अपराधमा मुद्दा चलाइने प्रहरीले जनाएको छ । प्रहरीले ज्ञवालीलाई पक्राउ गर्न भरतपुर १९ को पुनःमतदानको साइत नै किन कुर्यो भन्नेमा भने विभिन्न प्रश्न उब्जिएको छ । प्रहरीले ज्ञवालीलाई यसअघि पनि पक्राउ गर्न कुनै समस्या थिएन तथापी भरतपुर १९ मा पुनः मतदानको मिति तोकिएर मौन अबधि सुरु भैसकेपछि ज्ञवाली पक्राउ परेका छन । प्रहरीका अनुसार निरव महानगरका अर्का मेयरका उम्मेदवार देवी ज्ञवालीका पुत्र हुन ।
प्रकाशित मिति: मंगलबार, साउन १७, २०७४