काठमाडौँ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप सोमबार बिहान काठमाडौँ आइपुगेको छ ।
सोमबार बिहान राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज चीनबाट कोरोनाविरुद्धको खोप ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । उक्त ओप आजै नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।
चीन सरकारले कोरोनाविरुद्धको ‘भेरासेल’ खोपको आठ लाख डोज नेपाललाई उपलब्ध गराएको हो । चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको सो खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । यो खोप दुई मात्रा लगाउनुपर्छ ।
विभिन्न परीक्षणहरूमा चिनियाँ खोप नेपालले हाल प्रयोग गर्दै आएको कोभिशील्ड खोपभन्दा बढी प्रभावकारी देखिएको अधिकारीहरु बताउँछन् । भेरासेल खोप कोभिसिल्डको तुलनामा महँगो पर्छ ।
यसअघि भारत सरकारले पनि नेपाललाई सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपको १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो ।
प्रकाशित मिति: सोमबार, चैत १६, २०७७