झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड नगरपालिकामा विपन्न तथा आदिवासी समुदायका लागि निर्मित ‘प्रदेश गौरव भिलेज’को आज उद्घाटन गरेका छन् । बिर्तामोड–७ मा निर्मित सो ‘भिलेज’मा ३७ आवासगृह छन् ।
भद्रपुरका धनजुजु श्रेष्ठ र कमला श्रेष्ठले निःशुल्क प्रदान गरेको एक बिघा तीन कठ्ठा जग्गामा प्रदेश नम्बर १ सरकार, नगरपालिका, ह्याबिटाट नेपाल र सहारा नेपालको रु १४ करोड ८० लाखका लागतमा ग्राम निर्माण गरिएको थियो ।सो अवसरमा प्रधानमन्त्री ओलीले मुलुकमा घरबारविहीन कोही हुनु नपर्ने जनाउँदै देशभर फुसको छानारहित घर निर्माणमा सरकारले सहयोग गर्ने आश्वासन दिए ।
नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले सो बस्तीमा अतिविपन्न कुर्मी र सन्थाल समुदायका परिवारलाई बसोबास गराइएको जानकारी दिए । उनका अनुसार हालसम्म नगरपालिकाभित्र ३०६ घर निर्माण गरेर विपन्न समुदायलाई हस्तान्तरण गरिसकिएको छ । चालू आर्थिक वर्षमा ५०० घर निर्माण गरेर हस्तान्तरण गर्ने योजनाअनुरुप २०६ घर निर्माणाधीन रहेको उनले बताए ।
प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७