काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार थप १ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ, ललितपुर र भक्तपुरमा गरी १ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ९ जना, ललितपुरमा २१ जना र भक्तपुरमा ८ जना कोरोना संक्रमित भेटिएका हुन् ।
यसैगरी काेराेना भाइरसकाे संक्रमणका कारण पछिल्लाे २४ घन्टामा ८ जनाकाे मृत्यु भएकाे छ । यससँगै नेपालमा काेराेनाका कारण ९१ जनाकाे मृत्यु भएकाे छ ।
ललितपुरको किस्ट अस्पतालको आइसियुमा उपचाररत बाराको कलैया घर भएका ७५ वर्षीय पुरुषकाे उपचारका क्रममा मृत्यु भएकाे छ ।
यसैगरी धादिङको नीलकण्ठ नगरपालिका-१४ निवासी ३२ वर्षीय पुरुषको कोरोना संक्रमणपछि ह्याम्स अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ ।
यसअघि काठमाडौंका १ जना, धनुषाका २ जना, सप्तरीका १ जना, मोरङका १ जना र कपिलवस्तुका १ जनाकाे मृत्यु भएकाे थियाे ।
प्रकाशित मिति: बुधबार, साउन २८, २०७७