काठमाडौं । जुन महिनाको २१औँ तारिख अर्थात् असार ७ गते आज देशभर विविध कार्यक्रम गरी छैठाैं अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन सुरु गरेको हो ।
अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्र संघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए। प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाले समर्थन गरेका थिए । यो प्रस्तावलाई हाल विश्वका धेरै देशले समर्थन गरिसकेका छन् ।
संस्कृत भाषाको योग शब्दको अर्थ जोड्नु भन्ने हुन्छ । ‘योगश्चित्तवृत्तिनिरोधः’ अर्थात् मनमा आउने विभिन्न विकारलाई हटाउने प्रक्रियालाई नै योग भनिन्छ । योग दिवसका अवसरमा विभिन्न संघसंस्थाले आज विविध कार्यक्रम आयोजना गर्ने भएका छन् । यस वर्ष कोरोना भाइरसको संक्रमण फैलिएकाले सार्वजनिक कार्यक्रमभन्दा पनि प्रविधिलाई उपयोग गरी जुम प्रविधिका माध्यमबाट कार्यक्रम गरिने जनाइएको छ ।
योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्तिलगायत सकारात्मक गुणको विकास हुन्छ । यस वर्ष दिवसको नारा ‘घरघरमा योग, परिवारका साथमा योग’ भन्ने रहेको छ ।
नेपालको अमूल्य निधिका रूपमा रहेको योग, प्राणायाम, आयुर्वेद र जडीबुटीको विकास एवं विस्तार गरी हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै स्वस्थ, समुन्नत र समृद्ध बनाउने अभियानका साथ योग दिवसको कार्यक्रम गर्न लागिएको हो ।
योगको उत्पत्ति नेपाली भूमिमै भएको विश्वास गरिन्छ । भगवान् शिवले पत्नी पार्वतीलाई पहिलोपटक योग शिक्षा दिएको विभिन्न शास्त्रीय ग्रन्थमा वर्णन गरेको पाइन्छ । शिव र पार्वतीबीचको संवादलाई प्रचारप्र्रसार गरी योग संसारभर फैलिएको थियो । बीचमा लुप्तप्रायः भए पनि पछिल्लो समयमा अन्तर्राष्ट्रिय एवं राष्ट्रिय योग दिवस मनाउन थालेपछि यसको पुनःजागरण नै सुरु भएको छ । प्रत्येक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाइन्छ ।
वर्षकै लामो दिनसमेत हुने आजको दिन आषाढ कृष्ण औँसीमा खण्डग्रास सूर्यग्रहण लाग्दैछ । योग दिवसलाई ग्रहणले छोए पनि योग, ध्यान, जप, तप, पूजा, पाठ गर्न हुने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए ।
विसं २०३६ देखि उत्तरायण सुरु हुने माघ १ गते योग एवं प्राकृतिक चिकित्साका अनुसन्धाता डा. हरिप्रसाद पोखरेलको सक्रियतामा नेपालमा योग दिवस मनाउन सुरु गरिएको हो ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका बेला औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्त महत्वपूर्ण भएको बताएका छन् । ती कुराका लागि योग शास्त्रले ज्ञान दिँदै आएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
छैठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै ओलीले भनेका छन्, ‘आधारभूत स्वास्थ्य सेवाभित्र योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा समेत जोड दिँदै हामी निरोगी नेपालको उद्देश्य पूरा गर्न सक्दछौं ।’
शारीरिक एवं मानसिक स्वस्थ्य र निरोगी नागरिक समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने मुख्य आधार भएको ओलीले बताएका छन् ।
ओलीले अगाडि भनेका छन्, ‘अन्तर्राष्ट्रिय योग दिवसको यस अवसरमा योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न म सबैमा आह्वान गर्दछु ।’
हेर्नुहाेस् शुभकामनाकाे पूर्ण पाठः
शुभकामना
छैठौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु र आरोग्यका लागि हार्दिक शुभकामना ब्यक्त गर्दछु । योग साधनामा समाहित तमाम साधक÷साधिका र योग गुरुहरुलाई यस दिवसका अवसरमा विशेष शुभकामना भन्न चाहन्छु ।
योग साधना हाम्रो प्राचीन सभ्यताको मौलिक उपज हो । सन् २०१५ बाट संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरेपछि संसारभर जुन २१ लाई योग दिवसका रुपमा मनाइँदै आएको छ । हामीले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रुपमा मनाउने परम्परा समेत थालनी गरेका छौं । मानसिक अन्तर्यात्रा मार्फत शारीरिक तथा मानसिक स्वास्थ्यको अध्ययन गर्ने योग शास्त्रको महत्व आधुनिक युगमा झनै मुखर भइरहेको छ । तनाव, अवसाद, द्वेष, ईश्र्या र निन्दाका दुष्प्रभावबाट मुक्त गर्दै समाजलाई स्वस्थ, खुशी र सकारात्मक मनोचेतनाले डो¥याउन योग मानवीय जीवनको अङ्ग बन्नु आवश्यक छ । योगको महत्वका बारेमा जनचेतना अभिबृद्धि गर्ने रयसका सरल विधिहरुको जनसाधारणमा पहुँच पु¥याउने काममा यस दिवसलाई सबै तह र क्षेत्रले सार्थक बनाउनु पर्दछ ।
योग हाम्रो प्राचीन ज्ञानशास्त्रको महत्वपूर्ण विधा हो र यसले मानिसको शरीर, मन र कर्मलाई एकै स्थानमा अवस्थित गर्दछ । मन, शरीर र कर्मको दूरी हटाई एकरसता प्रदान गर्नु योग हो । योग साधनाले तनाव ब्यवस्थापनमा सघाउँछ र मानव जीवनलाई स्वस्थ्य र नैतिकवान बनाउन मद्दत पु¥याउँछ । हाम्रो प्राचीन शास्त्रमा अष्टाङ्ग योगबारे उल्लेख गरिएको छ । जसमा योगका आठवटा चरण यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधीको साधनाबारे ब्याख्या छ । भगवत गीतामा श्रीकृष्णले बुद्धियुक्तो जहातीह उभे सुकृतदुष्कृते, तस्माद्योगाय युज्यस्व योगः कर्मसु कौशलम् भनी योगलाई मोहको त्याग र कर्मको कुशलताका रुपमा ब्याख्या गरेका छन् ।
हाम्रो देश आदिकालदेखि ऋषिमुनि तपस्वीहरुको पवित्र साधनास्थल हो । प्राचीन कालमा यस भूमिमा ऋषिमुनिहरुले ध्यान, आध्यात्मिक चिन्तन एवं आयुर्वैदिक पद्दतिको विकास गरेका थिए । आयुर्वेदका मुख्य ग्रन्थमध्येको चरकसंहितामा आयुर्वेदको सिद्धान्त हाम्रै हिमालय क्षेत्रमा ऋषिमुनिहरुको सम्मेलनले प्रतिपादन गरेको कुरा वर्णित छ र संहितामा हिमालय क्षेत्रका वनस्पति अरु क्षेत्रका भन्दा प्रभावकारी वा गुणकारी भएको उल्लेख गरिएको छ। आयुर्वेदमा कायचिकित्सा, शल्यचिकित्सा, शालाक्य, कौमारभृत्य, अगदतन्त्र, रसायन, वाजीकरण, भूतविद्या गरी आठ अङ्ग छन् ।शल्यचिकित्साको सबै भन्दा पुरानो ग्रन्थ मानिने महर्षि सुश्रुतकोसुश्रुत संहितामा शल्यचिकित्साका प्रक्रिया र औजारहरु बारे वर्णन छ । योग शास्त्र र आयुर्वेदमा हाम्रो क्षेत्रका औषधीय बनस्पतिको वर्णनबाट योगलाई आधुनिक चिकित्सकीय ज्ञानको स्रोत र यहाँका बनस्पतिलाई औषधिको स्रोतका रुपमा बुझ्न सकिन्छ । यहाँका बनस्पतिमा रहेको यौगिक प्रभावकारिताबारे आधुनिक विज्ञानका सोध ग्रन्थहरुमा पनि चर्चा गरेको पाइन्छ । अर्थात् प्राच्य दर्शनमा अपनाइएको योग पद्दतिलाई आजको आधुनिक मेडिकल विज्ञानले पनि स्वीकार गरिसकेको छ ।
यतिबेला सिंगो विश्व सँगै हामी पनि कोरोना भाइरसको महामारीसँग जुधीरहेका छौं । यस्तो बेलाऔषधीय गुणयुक्त आहर, ब्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्वपूर्ण विषय हुन् । यी विषयमा योग शास्त्रले ज्ञान दिंदै आएको छ । आधारभूत स्वास्थ्य सेवा भित्र योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा समेत जोड दिंदैहामी निरोगी नेपालको उद्देश्य पूरा गर्न सक्दछौं । समृद्ध नेपाल–सुखी नेपालीे हाम्रो राष्ट्रिय आकाङ्क्षा छ । शारीरिक एवं मानसिक रुपले स्वस्थ्य र निरोगी नागरिक यसकामुख्य आधार हुन् । अन्तर्राष्ट्रिय योग दिवसको यस अवसरमा योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न म सबैमा आह्वान गर्दछु ।
अन्त्यमा, छैठौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पुनः हार्दिकशुभकामना ब्यक्त गर्दछु ।
केपी शर्मा ओली
७ असार, २०७७
प्रकाशित मिति: आइतबार, असार ७, २०७७