काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी पाएका ३ मन्त्रीसँग बुधबार मन्त्रालयमा छलफल गरेका छन् ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नम्बर १ काे सरकारसँग समन्वय गर्ने जिम्मेवारी पाएका भाैतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री वसन्त नेम्वाङ, गण्डकी प्रदेशको सरकारसँग समन्वय गर्ने जिम्मेवारी पाएकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल र सुदूरपश्चिम प्रदेशको सरकारसँग समन्वयको जिम्मेवारी पाएकी खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरसँग मन्त्री ढकालले छलफल गरेका हुन् ।
छलफलमा मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयले कोरोना रोकथाम र नियन्त्रणमा चालिरहेको कदम र गरिरहेको कामको विषयमा जानकारी गराए ।
मन्त्री ढकालले प्रदेश र जिल्लास्तरबाट माग बढेसँगै सरकारले कोरोना भाइरसको नमूना परीक्षणको क्षमता विस्तार गरी दोब्बर बनाउने काम अन्तिम अवस्थामा पुगेको बताए ।
हाल दैनिक मुलुकभर रहेका १० प्रयोगशालामा गरी ३ हजारको सङ्ख्यामा परीक्षण गर्ने क्षमता रहेकामा प्रदेशस्तरमा प्रयोगशालाको जडान, स्तरोन्नति तथा मेसिन थप गरी क्षमता विस्तार हुँदै छ ।
सम्बन्धित प्रदेशको समन्वय गर्ने जिम्मेवारी पाएका मन्त्रीहरूले स्वास्थ्य सामग्री र अन्य तयारीको बारेमा प्रदेशगत रूपमा आफ्नो विचार राखेका थिए ।
केही दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले उच्चस्तरीय समन्वय समितिमा नरहेका मन्त्रीहरूलाइ प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी तोकेको थियो ।
प्रकाशित मिति: बुधबार, चैत २६, २०७६