काठमाडौं । सरकारले देशभर ‘लकडाउन’ गरिरहे पनि थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह) मा सुत्केरी हुने महिलाको सङ्ख्या भने कम भएको छैन ।
‘लकडाउन’का कारण यातायातको असुविधा भए पनि एम्बुलेन्स, ट्याक्सी र निजी गाडीबाट अस्पताल आइरहेकाले अहिले पनि दैनिक सय महिलाले सन्तानलाई जन्म दिएका छन् ।
बहिरङ्ग सेवा बन्द भए पनि आकस्मिक सेवा र भर्ना हुने बिरामी नियमित जति नै भएको अस्पतालका निर्देशक डा. जगेश्वर गौतमले बताए । अस्पतालले कार्यरत कर्मचारीलाई मास्क, सेनिटाइजर लगायत आवश्यक सामग्री उपलब्ध गराएर नियमित काममा लगाएको छ । अस्पतालमा स्वास्थ्यकर्मीका लागि आवश्यक कुराको अभाव नभएको उनले बताए ।
कुरुवा र बिरामीलाई अस्पताल हाताभित्र छिर्दा साबुन पानीले हात धुने व्यवस्था मिलाएको छ । कुरुवालाई भीड नगर्न भनिएको र एक बिरामीलाई एक कुरुवा बस्न भनिएको छ ।
अस्पतालले पहिले एउटै सेवा दिने गरेकामा अहिले तीन छुट्टाछुट्टै स्टेशनको व्यवस्था गरेको छ । पहिलोमा सामान्य, दोस्रोमा रुघा खोकी र तेस्रो वार्डमा कोभिड–१९ का बिरामीका लागि छुट्याइएको छ ।
प्रसूति सेवा लिन आएका महिलालाई सङ्क्रमण भए पनि प्रसूति सेवा लिनका लागि अरु बिरामीभन्दा टाढा तीन शय्याको स्टेशन बनाइएको छ । उनले भने , कोभिड–१९ का सङ्क्रमित महिला आउँदा पनि अरुमा सर्न नपाओस् भनी छुट्टै शय्याको व्यवस्था गरिएको हो ।
जुनसुकै गर्भवती सङ्क्रमित पाइएमा पहिले टेकु नै पठाइने निर्देशक डा.गौतमले बताए । नौ महिनाको र सुत्केरी हुने अवस्थामा पुगेका महिलालाई भने यहीँ छुट्टै शय्यामा राखेर प्रसूति सेवा दिइनेछ । उनले भने, आठ महिनासम्मका महिलामा सङ्क्रमण देखिएमा समस्या गर्भभन्दा पनि रोग भएकाले त्यसको पहिले उपचारका लागि पठाइनेछ ।
अस्पतालमा कुनै पनि समयमा कोभिड–१९ सङ्क्रमित आउन सक्ने भएकाले आवश्यक तयारी गरिएको अस्पतालका निर्देशक गौतमले बताए । हालसम्म तीन शय्याको मात्रै व्यवस्थापन गरिए पनि आवश्यकतानुसार आगामी दिनमा थप गर्न सकिने अस्पतालले जनाएको छ ।
थापाथलीमा ‘आइसोलेसन’ मा राख्न पर्याप्त स्थान नभएकाले अस्पतालको कुपण्डोलस्थित नयाँ भवनमा व्यवस्था मिलाइने उनले बताए । त्यसका लागि आवश्यक स्थानसँगै जनशक्ति र स्रोत व्यवस्थापनको तयारी भइरहेको छ ।
उनले भने , आवश्यक भएमा नयाँ भवनमा १५० जनासम्म व्यवस्थापन गर्न सकिनेछ । यो रोग विश्वमा नै नयाँ भएकाले गर्भवती महिलामा कत्तिको चाँडो असर गर्छ भनी अध्ययन भइसकेको छैन ।
तैपनि ज्येष्ठ नागरिक, रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई जस्तै गर्भवतीलाई असर गर्ने सम्भावना रहेको बताइएको छ । उनले भने, नयाँ रोग भएकाले बच्चा र आमामा पार्ने रोगको विस्तृत अध्ययन भने हुन सकेको छैन ।
‘लकडाउन’ शुरु भएको दिनदेखि नै नियमित जाँच रोकेर अरु सेवा दिइएको अस्पताल प्रशासनले जनाएको छ । नियमित जाँचका लागि आउने गर्भवती महिलालाई पहिले खाँदै आएको औषधि नियमित खाएर अप्ठ्यारो पर्दा मात्रै आउन भनिएको अस्पतालका प्रशासन प्रमुख रानु थापाले बताइन् ।
आकस्मिक कक्षमा बिरामीलाई आवश्यक सेवा दिइरहेको र भर्ना लिनुपर्ने बिरामीलाई लिने गरिएको उनले बताइन् । उनले भने, गर्भवती महिलालाई एकातिर सवारी साधन नहुँदा आउन कठिन र अर्कातिर सङ्क्रमण हुने खतरा भएकाले अप्ठ्यारो नहुँदासम्म नआउनु भनिएको हो । –रासस
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६