–चन्द्रमणी पोखरेल
दिउँसो घरमा तल्लो घरे काजिले एउटा कागजको चिर्कटो दिंदै भन्यो, घिमिरेनी आमैको भोलि १३ दिनको शुध्याई अरे निम्तो छ है काका भन्दै पला घर निम्तो दिन दौडिहाल्यो । मलामि गएको थिएँ शुध्याई मा त जानै पर्यौ नि हैन हजुर ? श्रीमतीले सहमती जनाइन ।
शुद्धशान्तिमा त जानै पर्छ है ! फेरि हजुर जानू भएन भने त उनिहरुलाई भारा लाग्छ भन्छन, जसरी नि जानू है हजुर भन्दै श्रीमती तोरिको साग बेडाउन वारि तिर लागिन । जानै पर्छ मर्दा पर्दा हो छिमेकी भनेर म नि शुध्याईमा तिर लागेँ । जब म त्यहाँ पुगे मैले अचम्म पो देखँे । १ ठूलो पण्डाल टाँगिएको रंगीचंगी कुर्चीहरु साजसज्जाका साथ पङ्ती मिलाएर राखिएको, मधुरो आवाजमा संगीत बजेको खानाका विभिन्न पकुवानहरु तयार भएको खानेहरु थपी थपी खाइरहेका, पुरै भव्य यो त शुध्याई भन्दा नि शुभकर्म जस्तो लाग्यो मलाइ त । म नि एउटा कुर्ची तानेर कुनामा बसेर त्यहाँको रामरमिता हेरिरहें । अस्ति पछिलो पटक आमैलाई हेर्न जाँदाको दृश्य मेरो दिमाग मा झलझली आयो । बाहिर खाट्मा बुढी मान्छे त्यो नि कार्तिक मंसिरको जाडोमा आमै न गतिलो ओछ्यान थियो न ओढ्ने गतिलो । जताततै फोहोर मैलाका टाटाँहरु थिए । झिंगा भननन भन्की रहेका थिए । कतिदिन देखि रालसिंगान एकै ठाउँमा । हे भगवान ! त्यो छोरालाई कति दुख कष्ट सहेर हुक्र्याइ, पढाइ र बढाइ गरेकि थिइन आमैले । आज त्यो हालत ! मेरो त मनै खिन्न भएको थियो त्यो दृश्य देख्दा ।
आज दान गर्न राम्रो सफा तन्ना गतिलो सिरक डसना तयार थियो । बाहुन बाहुनि पहिर्याउने बेला भएको थियो । सबैजना रमित मानेर हेर्दै थिए । त्यो दृश्य देखेर म टल्ल परें । त्यो बेला आमै बुहारीलाई एकमुठी पानी तताइ देन बुहारी मेरो घाँटी दुखेको छ, भन्दा सुनेको नसुनै गर्ने बुहारी , कतिदिन देखि ननुहाएर आमैका कपाल लट्टा परेका स्याउस्याउती जुम्रा परेका थिए । आमै कपाल कन्याइ रहन्थिन् । यो दृश्य देखेर मेरो मन रोएको थियो । म त्यसै आत्मग्लानी भएर घर फर्किएको थिएँ ।
एकदिन राती हावाहुरी सँग पानी बेस्कन परेर चिसो मा बाहिर खाट्मा आमै एक्लै कठ्याङ्गृएर प्राण पखेरो उडेछ । बिहान पो आमै मरिन अरे भन्ने हला भयो । अनि म नि मलामी गएको थिएँ । छोराबुहारिनी यसो साक्साक्सुक्कसुक्क रोए अरे भन्ने सुनिन्थ्यो । उनको आत्माको शान्तिको लागि भन्दा छोराको रवाफको शुध्यार्इं थियो आज छोराले आमाको शुध्याईंमा राम्रो दान दक्षिणा गरेको खुवाई पियाई राम्रो देखेर आमैको निधन पुर्वको साँचो कुरा थाहा नपाएकाहरु छोरो हुनु त यस्तो हुनुपर्छ भन्दै गुणगान गाइरहेका थिए ।
मलाई भने आमैको अन्तिम अबस्थाको घरको दृश्य देखेको मान्छे भएकाले यो सबै कुरा ढोङ हो भन्ने मनमा लागेर खोइ किन हो ? कुरि कुरि लागिरह्यो ।
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०७५