१७ पुस, काठमाडौँ । ‘नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ पाँचौँ राष्ट्रिय टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा जागरुक युवा अभियानले आज बिहान ¥याली निकालेका छन् । माइतीघरबाट शुरु भएको ¥याली भद्रकाली न्यूरोड हुँदै रत्नपार्क्स्थित शान्तिबाटिकामा पुगी समापन भएको थियो । ¥यालीमा नेपाली राष्ट्रिय पोशाक दौरासुरुवाल र टोपी लगाएर सर्वसाधारणको स्वःस्फूर्तरुपमा सहभागिता रहेको थियो । सर्वसाधारणले भादगाउँले र ढाकाटोपी लगाएर राष्ट्रिय झण्डा बोकेका थिए । राष्ट्रिय टोपी अभियानका अभियन्ता जनार्दन पौडेलले नेपालीको पहिचान गुम्ने खतराबाट बचाउनका लागि दिवसको शुरुआत गरिएको बताए । उनले नेपालीको पहिचान गुमिरहेकाबेला सरकारले नै ढाका टोपी दिवस मनाउनुपर्ने विचार व्यक्त गर्नुभयो । विगत पाँच वर्षदेखि अंग्रेजी नयाँ वर्षको दिनमा ढाका टोपी दिवस मनाइने गरिन्छ । पहिले सामाजिक सञ्जालमार्फत टोपी दिवसको प्रचार गरे तापनि विगत चार वर्षदेखि ¥याली नै निकालेर दिवस मनाउन थालिएको पौडेलले बताउनुभयो । यस्तै वसन्तपुरमा पनि ढाकाटोपी लगाएर प्रदर्शन गरिएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा ढाकाटोपी लगाएर प्रदर्शन गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, पुस १६, २०७४