काठमाडौं । नेपालमा प्रत्येक वर्ष करिब १ सय जनाको रेबिजका कारण मृत्यु हुने अनुमान गरिएको छ । जनावरको टोकाइका घटना भने बर्सेनि २ लाखभन्दा बढी हुने गरेका छन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार देशभर २ लाख २३ हजार ५१० जनावरको टोकाइका घटना दर्ता भएका छन् । तीमध्ये करिब ९६ प्रतिशत घटना कुकुरको टोकाइका हुन् । मानवमा हुने रेबिजका करिब ९९ प्रतिशत घटना पनि कुकुरकै टोकाइका कारण हुने मन्त्रालयले जनाएको छ ।
हरेक वर्ष २८ सेप्टेम्बरमा विश्व रेबिज दिवस मनाइन्छ । यस वर्ष ‘एकतामा शक्ति, रेबिजबाट मुक्ति’ भन्ने नाराका साथ दिवस मनाइँदै छ ।
रेबिज रोकथाम तथा नियन्त्रणका लागि मानव स्वास्थ्य, पशु स्वास्थ्य, स्थानीय तह र समुदायबीचको समन्वयमा जोड दिइएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हरेक वर्ष करिब ५८ हजार ९९० जनाको रेबिजका कारण मृत्यु हुने अनुमान छ । रेबिजबाट हुने मृत्युमध्ये करिब ४७ प्रतिशत दक्षिण–पूर्वी एसिया र ३२.५ प्रतिशत अफ्रिकी मुलुकमा हुने गर्छ । मृत्यु हुनेमध्ये करिब ४० प्रतिशत १५ वर्षभन्दा कम उमेरका बालबालिका छन् ।
रेबिज घातक भए पनि रोकथाम गर्न सकिने रोग हो । तर लक्षण देखिएपछि यो लगभग शतप्रतिशत घातक हुने भएकाले जनावरले टोकेपछि लक्षण देखिने समय कुर्न नहुने स्वास्थ्य अधिकारीहरू बताउँछन् ।
नेपालमा रेबिजविरुद्धको खोप सेवा विस्तार गर्दै हाल २८६ वटा सेवा केन्द्रबाट खोप उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालमा करिब ५० प्रतिशत जनसंख्या रेबिजको उच्च जोखिम क्षेत्रमा बसोबास गर्छ । विशेषगरी बालबालिका जनावरको टोकाइबाट बढी जोखिममा रहने भएकाले उनीहरूलाई जनावरसँग सुरक्षित व्यवहारबारे जानकारी दिनुपर्नेमा मन्त्रालयले जोड दिएको छ ।
नेपालले सन् २०३० सम्म कुकुरबाट सर्ने रेबिजका कारण हुने मानव मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ । त्यसका लागि रेबिज निगरानी तथा प्रयोगशाला प्रणाली सुदृढ गर्ने, कुकुरलाई सामूहिक रूपमा खोप लगाउने, कुकुरको संख्या व्यवस्थापन गर्ने, उपचारमा पहुँच बढाउने र जनचेतना अभिवृद्धि गर्ने रणनीति अघि सारिएको छ ।
मन्त्रालयले कुकुर, बिरालो वा रेबिज संक्रमित हुन सक्ने अन्य जनावरले टोके वा चिथोरेमा तत्काल सावधानी अपनाउन आग्रह गरेको छ । घाउलाई साबुन र बगिरहेको पानीले कम्तीमा १५ मिनेटसम्म राम्ररी धुन तथा घाउमा खुर्सानी, तेल, माटो, जडीबुटी वा अन्य घरेलु पदार्थ नलगाउन मन्त्रालयले सुझाव दिएको छ ।
घाउ धोइसकेपछि सम्भव भएसम्म तत्काल स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्यकर्मीको सल्लाहअनुसार रेबिजविरुद्धको खोप तथा आवश्यक उपचार सुरु गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
नेपालले रेबिज नियन्त्रणका लागि ‘एक स्वास्थ्य’ अवधारणालाई प्राथमिकतामा राखेको छ । यसअन्तर्गत मानव तथा पशु स्वास्थ्य, वन्यजन्तु, वातावरण, स्थानीय तह र समुदायबीच समन्वयमा जोड दिइएको छ ।
रेबिज निवारण स्वास्थ्य क्षेत्रको मात्र जिम्मेवारी नभई सबै सरोकारवाला निकाय र समुदायको साझा प्रयासबाट सम्भव हुने मन्त्रालयको भनाइ छ । त्यसका लागि सातै प्रदेशमा रणनीति तथा रोडम्याप विकास, उच्च जोखिम क्षेत्रमा समुदायमा आधारित जनचेतना तथा मानव र पशु स्वास्थ्य क्षेत्रबीचको समन्वयलाई प्राथमिकता दिइएको छ ।
प्रकाशित मिति: सोमबार, असोज १२, २०८३