काठमाडौं : नेपालले पहिलो पटक सगरमाथाको उचाइ मापन सुरू गरेको छ । नेपाल सरकारले आफ्नै लगानीमा पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्न लागेको हो ।
२०७२ सालको भूकम्पपछि सगरमाथाको उचाइमा घटबढ भएको हुनसक्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कुरा उठेपछि त्यो विषयलाई मध्यनजर गर्दै नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले आफ्नै स्रोत साधनबाट सगरमाथाको उचाइ मापन कार्य अगाडि बढाएको हो ।
सगरमाथाको उचाइ मापन गर्न नापी विभागका तालिमप्राप्त प्राविधिक कर्मचारीहरू बुधबार त्यता प्रस्थान गरेका छन् । उक्त टोलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमको आयोजना गरी बिदाइ गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले माला र टीका लगाएर गाइडसहितको उक्त टोलीलाई बिदाइ गरेका हुन् ।
उचाइ मापनका निम्ति आवश्यक पर्ने यन्त्रहरूसहित प्राविधिक टोली त्यसतर्फ प्रस्थान गरेको हो । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा कर्मचारीहरूले पर्वतारोहणसम्बन्धी तालिम लिएका थिए । प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा नापी अधिकृत रविन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धितालले सगरमाथाको उचाइ मापन गर्नेछन् । भण्डारी र धितालले वेस क्याम्पमा बसेर सम्पर्क सूत्रको काम गर्ने र प्रमुख गौतम र कार्की भने सगरमाथाको चुचुरोमै पुगेर उचाइ मापन गर्नेछन् ।
उक्त कार्यका निम्ति पाँच जना गाइडहरू खटाइएको छ । पिक प्रमोसन प्रालिमार्फत् छिरिङ जाङ्बु शेर्पाको नेतृत्वमा पेमा ङिमा शेर्पाले प्राविधिक कर्मचारी टोलीलाई चुचुरोसम्मै पुर्याउन मद्दत गर्नेछन् भने आङ्बु शेर्मा, आङ पासाङ शेर्पा र केशव पौडेलले व्यवस्थापनको काम गर्नेछन् ।
सगरमाथाको उचाइ मापनका लागि जान लागेको टोलीलाई मन्त्री अर्यालले शुभकामना दिएकी छन् । कार्यक्रममा टोलीलाई शुभकामना दिँदै मन्त्री अर्यालले चुनौतीपूर्ण र सरकारले गरेको ऐतिहासिक कार्य भएको हुनाले सावधानीपूर्वक जिम्मेवारी पूरा गर्न आग्रह गरिन् । हामीले आफ्नै तर्फबाट पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्दै छौँ , मन्त्री अर्यालले भनिन्, सरकारले तपाईंहरूलाई ठूलो जिम्मेवारी दिएको छ । सावधानीपूर्वक उक्त जिम्मेवारी पूरा गर्दै काम सम्पन्न गर्नुहोस् ।
सगरमाथा मापनसम्बन्धी केही तथ्यहरू
- नेपालले पहिलो पटक आफ्नै स्रोत साधनको प्रयोगमा सगरमाथाको उचाइ मापन गर्न गइरहेको छ ।
- संसारको सबैभन्दा अग्लो चुचुरोको उचाइ करिब १७० वर्षअघि मापन भएको तर यो वर्ष नेपालले आफैँ मापन गर्दै छ ।
- सन् २००५ मा चीनले नेसनल ब्युरो अफ सर्भेइङ एण्ड म्यापिङले ८८४४.४३ मिटर उचाइ मापन गर्यो ।
- अमेरिकाले सन् २००० मा ८८५० मिटर उचाइ रहेको उल्लेख गर्यो ।
- इटालीले सन् १९९२ मा ८८४८.६५ मिटर उचाइ मापन गर्यो ।
- सन् १९७५ मा चीनले ८८४८.१३ मिटर मापन गर्यो ।
- सन् १९५४ मा सर्भे अफ इण्डियाले ८८४८ मिटर उचाइ मापन गर्यो । हामीले अहिलेसम्म यसैलाई आधिकारिक उचाइ पनि मान्दै आएका छौँ ।
- सन् १८४९ मा ब्रिटिस सर्भे अफ इण्डियाले ८८४०.५० मिटर उचाइ मापन गर्यो तर त्यतिबेला पुरानो प्रविधिको प्रयोग भएको थियो ।
- नापी विभागले २०७२ सालमा भूकम्प गएपछि नगरकोट, चन्द्रकोट, फुल्चोकीलगायत काठमाडौं वरिपरिका डाँडाहरूलाई आधार मानेर सर्भे गर्दा ०.९१ मिटर अर्थात् करिब १.०० मिटर उचाइ बढेको पाइयो ।
- वि.सं. २०७२ सालको भूकम्पका बेला सगरमाथा वेस क्याम्पमै १२ जनाको मृत्यु भयो ।
- संसारभर यतिबेला सगरमाथाको उचाइको विषयलाई लिएर विभिन्न प्रश्न उठेका छन् ।
- यसै सन्दर्भमा भारतले यसको पछिल्लो उचाइ मापन गर्ने इच्छा व्यक्त गर्यो । त्यति नै बेला नेपालले नाकाबन्दीको सास्ती खेप्नुपर्यो ।
- त्यसपछि नेपाल सरकार आफैँले सगरमाथाको उचाइ मापन गर्ने भनेर घोषणा गर्यो । फलस्वरूप आज नेपाल आफैँले सगरमाथाको उचाइ मापन गर्दै छ ।
- यसै सन्दर्भमा संसारभरका विभिन्न राष्ट्रका नाप नक्सासम्बन्धी वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय कार्यशालको सुझावअनुसार सगरमाथाको उचाइ जीएनएसएस प्रविधिबाट नाप्ने निर्णय भयो ।
प्रकाशित मिति: बुधबार, चैत २७, २०७५