वासिंगटन । अमेरिकाको शिकागोस्थित एउटा अस्पतालमा गोली चलाउँदा चार जनाको मृत्यु भएको छ ।
गोली लागेर मारिनेमा अस्पतालका दुई महिला कर्मचारी, एक जना प्रहरी र बन्दुकधारी रहेका छन् । गोली हानाहानका क्रममा बन्दुकधारी मारिएको प्रहरीले जनाएको छ ।
बन्दुकधारी आफैंले आफूमाथि गोली चलाएका हुन् या प्रहरीको गोलीले उनको मृत्यु भएको हो भन्ने बारेमा चाँहि स्पष्ट भइसकेको छैन ।
अर्का प्रहरी अधिकारीतिर चलाइएको एउटा गोली उनको बन्दुकमा अड्किएपछि उनी घाइते भएका छन् । बन्दुकधारीले आफूसँग सम्बन्ध रहेकी एक महिलालाई लक्षित गरी गोली चलाएको बताइएको छ ।
बन्दुकधारीले अस्पतालको कार पार्किङ स्थलमा फायरिङ थालेपछि कैयौं राउण्ड गोली चलाइएको शिकागो प्रहरीका प्रवक्ताले जनाएका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०७५