८ फागुन, काठमाडौँ । छिमेकी राष्ट्र भारतको उत्तर प्रदेशमा विधानसभा चुनाव अन्तर्गत आइतबार तेस्रो चरणको मतदान भइरहेको छ । तेस्रो चरणको चुनाव अन्तर्गत आज १२ जिल्लाका ६९ सिटका लागि मतदान भइरहेको हो । सात चरणमा हुने चुनाव अन्तर्गत पहिलो चरणमा ७३ तथा दोस्रो चरणमा ६७ सिटका लागि मतदान भइसकेको छ । उत्तर प्रदेश विधानसभामा चार सय ३ सिट छ । आइतबार मतदान भइरहेका सिटमा सत्तारुढ समाजवादी पार्टीका गढ क्षेत्र मानिएका सिट पनि छन् । यसपटक अखिलेश यादव नेतृत्वको समाजवादी पार्टी र कांग्रेस मिलेर चुनाव लडेका छन् ।
यस्तै भारतीय जनता पार्टी र बहुनजन समाज पार्टी पनि प्रतिस्पर्धामा रहेकाले यो चुनावलाई समाजवादी–कांग्रेस गठबन्धन, भाजपा र बहुजन समाज पार्टीबीचको त्रिकोणात्मक प्रतिस्पर्धाका रुपमा लिइएको छ । उत्तर प्रदेशको चुनावलाई प्रधानमन्त्री नरेन्द्र मोदीको परीक्षणका रुपमा पनि हेरिएको छ । यो चुनावलाई पाँच सय र हजारको नोटलाई प्रतिबन्ध लगाउनेसहितका प्रधानमन्त्री मोदीको निर्णयको परीक्षणको रुपमा पनि हेरिएको छ । सन् २०१४ मा भएको लोकसभा चुनावमा भारतीय जनता पार्टी बिजेपीले उत्तर प्रदेशका ८० मध्ये ७३ सिट जितेको थियो । तर विधानसभा चुनावमा बिजेपीको प्रदर्शन राम्रो नहुने विश्लेषण गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७३