‘अपांग भएकाले धेरै समस्या भोग्नुपरेको छ’, जोरपाटीमा बस्दै आएकी ३४ वर्षीया सोनिका ढकाल भन्छिन्, ‘शहरका बाटोघाटो, सवारी साधन त अपांगमैत्री छैनन् नै, यहाँ अपांगमैत्री शौचालयसमेत छैनन् ।’
अपांगमैत्री शौचालय नहुँदा सोनिकालाई अफिसबाहेक अन्य काममा हिँड्नका लागि सोच्नुपर्छ । ‘कतै जानुप¥यो भने ठूलो डाइपर लगाउनुपर्छ, त्यही पनि कहिलेकाहीँ पिसाब लिक भइरहेको हुन्छ । डाइपर चेन्ज गर्नुपर्ने हुन्छ’, उनी दुखेसो पोख्छिन्, ‘एक त महिला, त्यसमाथि अपांग, कहाँ गर्ने, कसरी गर्ने ? एकदमै समस्या पर्छ ।’
१४ वर्षअघि दशैँको नवमीको दिन लिंगे पिङ खेल्दा लडेर उनलाई स्पाइनल कर्डमा चोट लाग्यो । त्यसयता उनी ह्विलचेयरको सहारामा छन् । स्पाइनल इन्जुरी रिहाव सेन्टरमा रोजगार संयोजकका रूपमा कार्यरत छन् उनी । उनले धेरै पटक शहरमा मात्र नभएर प्राइभेट मल, सिनेमा हलमा पनि अपांगमैत्री शौचालय हुुनुपर्ने माग राख्दै आएकी छन् । तर अहिलेसम्म माग पूरा भएको छैन ।
महिनावारी भएको बेला झनै समस्या खेप्नुपर्ने उनी बताउँछिन् । ‘न अपांगमैत्री शौचालय छ, न त डस्टबिन नै छ’, उनी सुनाउँछिन्, ‘समस्यासँग जुध्दाजुध्दै दिन बितिरहेको छ । अपांगहरूको समस्यालाई सरकारले नजरअन्दाज गरिरहेको छ ।’
अपांगता मानिसको रहर होइन । कोही जन्मजात त कोही विभिन्न खाले दुर्घटनाका कारण अपांग हुन्छन् । यसरी नै जीवन चल्छ भनेर आफूलाई सम्हाले पनि शहरका समस्याले उनीहरूलाई दुःखी बनाउँछ ।
अपांगमैत्री शौचालय नहुँदा सोनिकाले धेरै पटक सास्ती भोगेकी छन् । एक दिन बानेश्वरमा एक बिल्डिङको छैठौँ तलामा कार्यक्रम थियो । उनलाई त्यहाँको शौचालय प्रयोग गर्न निकै गाह्रो भयो । ‘अरूको सहारामा शौच गर्नुप¥यो’, उनले भनिन् । यस्तो अवस्थामा धेरै पटक पानी प्यास लाग्दालाग्दै पनि पिउन सक्दैनन् । भोक लाग्दा खाजा खान पनि मन लाग्दैन शौचालयको अवस्था सम्झेर ।
सिन्धुपाल्चोककी ३१ वर्षीया लाली शेर्पा जोरपाटीमा बस्छिन् । अपांगमैत्री शौचालय नभएकै कारण उनी पनि समस्या भोगिरहेकी छन् । उनी पहिले चीनबाट सामान ल्याएर महाबौद्धको थोक पसलमा बिक्री गर्थिन् । २०६० सालमा चीनबाट सामान ल्याउँदै गर्दा ट्रक दुर्घटना भयो र उनको स्पाइनल कर्डमा चोट लाग्यो । अहिले स्पाइनल इन्जुरी रिहाव सेन्टरमा काउन्सिलरका रूपमा उनी काम गर्छिन् । अहिले उनी आफ्नी १५ वर्षकी छोरीसँग बस्छिन् । उनी पनि कार्यालयबाहिर निस्किँदा पानी खान मन लाग्छ, खाजा खान मन लाग्छ । उनी तिर्खाइरहन्छिन् तर पानी पिउँदिनन् । ‘यसले गर्दा किड्नीमा समस्या देखिन सक्छ’, उनी भन्छिन् । उनलाई स्पाइन इन्जुरी भएपछि उनको सबैभन्दा नजिकको मान्छे अर्थात् श्रीमान् उनलाई निको हुने आश हुँदासम्म त सँगै बसे तर पूर्ण रूपमा निको हुँदैन भन्ने थाहा भएपछि छाडेर हिँडे । ‘मैले केही भन्न सकिनँ । सधैँ यसरी बसेर हुन्न, मचाहिँ पैसा कमाउँछु भनेर हिँडेका थिए तर अर्कै विहे गरेर बसे’, उनी भन्छिन्, ‘उनले अहिले छोरीको पनि वास्ता गर्दैनन् ।’
ह्विल चेयर प्रयोगकर्ता टेकबहादुर गुरुङको पनि उस्तै समस्या छ । ‘शहरका अरू ठाउँको त कुरै छाडौँ, ठमेल, दरबारमार्ग जस्ता ठाउँमा पनि अपांगमैत्री शौचालय छैनन्’, उनी भन्छन् । दिसा पिसाब लागे कहाँ जाने भन्ने डरले बाहिर निस्कनसमेत डर लाग्छ उनलाई । कहिलेकाहीँ काम विशेषले निस्कनुप¥यो भने उनी पानी पिउँदैनन् । यसको कारण हो– पिसाब गर्न समस्या ।
यसले ग्यास्ट्रिकदेखि युरिन इन्फेक्सनसमेत भएको उनी दुखेसो पोख्छन् । सरकारले अपांगता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनी बताउँछन् । बालुवाटारमा बस्ने उनलाई श्रीमती र छोरीले यताउता ह्विल चेयरमा यात्रा गर्न सहयोग गरेका छन् तर समस्याको चाङले भने उनलाई छाडेको छैन ।
बुटवल स्थायी घर भएकी ३६ वर्षीया देवी आचार्य २०६१ सालको घटस्थापनाको दिन काठमाडौँबाट घर जाँदै गर्दा नवलपरासीको कावासोतीमा सवारी दुर्घटनामा परिन् । उनलाई तत्काल उपचारका लागि भरतपुर लगियो । भरतपुरबाट काठमाडौं ‘रिफर’ गरेपछि उनी नौ महिनासम्म अस्पताल बसिन् । उनलाई स्पाइनल कर्डमा चोट लागेको हुनाले लामो समय अस्पताल बस्नु मात्र परेन, फिजियोथेरापी पनि नियमित गर्नुप¥यो ।
त्यसो त जीवनको यात्रा सहज छैन । सामान्य महिलालाई त हाम्रो समाजमा धेरै चुनौती छन् भने अपांगता भएका महिलाको जीवन सोचेजति सहज छैन । महिला भएका कारण पाइलापाइलामा विभेद भएको महसुस उनीहरूले गरेका छन् । आचार्य यो शहरमा अपांगमैत्री शौचालय कतै देख्दिनन् । ‘सबैभन्दा पहिले सेफ्टीको कुरा आउँछ । शौचालय अपांगमैत्री नहुँदा समयमा दिसा पिसाब गर्न नपाउँदा चुहिने समस्या पनि भोेग्नुपर्छ’, उनी भन्छिन्, ‘यस कारण धेरैलाई घरबाट बाहिर निस्कन पनि मन लाग्दैन ।’ घरबाट निस्कनुपर्दा उनी पनि पानी पिउँदिनन् । पानी नपिउँदा उनलाई धेरै पटक युरिन इन्फेक्सनसमेत भएको छ । ‘यसले स्वास्थ्यलाई नै असर गरिरहेको हुन्छ’, उनी भन्छिन् ।
अझै महिनावारीको बेला महिलालाई धेरै समस्या छ । समयमा शौचालय प्रयोग गर्न नपाउँदा र डाइपर, प्याड फेर्न नपाउँदा रगत र पिसाब सबै बाहिर निस्कने समस्या उनले धेरै भोगेकी छन् । यसले गर्दा महिलाहरू हीनताबोध महसुस गर्ने र पछि गएर कतिपयलाई डिप्रेसनको समस्या देखिने जानकार बताउँछन् ।
राष्ट्रिय अपांग महासंघ र नेपाल सरकारले २०६९ सालमा अपांगता भएका व्यक्तिहरूको पहुँचका लागि मापदण्ड बनेको थियो । तर त्यो मापदण्ड केही हदसम्म मात्र कार्यान्वयनमा आएको उनी बताउँछिन् । यसमा अपांगमैत्री शौचालय पनि परेको छ तर यसमा सरकार उदासीन रहेको उनीहरूको गुनासो छ ।
महासंघकी सचिवालय सदस्यसमेत रहेकी आचार्य अहिले इन्डिपिन्डेन्ट युथ सेन्टरको कोषाध्यक्ष छन् । अपांगता भएका व्यक्तिहरूको अधिकारका लागि वकालत गर्न लागिपरेकी उनलाई यो सहजतासम्म आउन निकै समय लाग्यो ।
अहिले आचार्यको दैनिकी आममानिसको जस्तै छ । उनी अहिले जोरपाटीमा बस्छिन् । खाना पकाउनेलगायतका सबै काम उनी आफैँ गर्छिन् । उनका सहयोगीले स्कुटर चढाइदिन्छिन् अनि उनी चारपांग्रे स्कुटर हाँक्दै, बाटो छिचोल्दै दिनदिनै रातोपुलमा रहेको उनको कार्यालयमा पुग्छिन् ।
आचार्यको विचारमा राज्यले अपांगता भएका व्यक्तिका लागि नीति बनाए पनि कार्यान्वयनको पाटो भने निकै कमजोर छ । तथापि, आफूहरूका लागि राज्यले केही गर्ला भन्ने अपेक्षा पनि उनले गरेकी छन् । ‘अपांगता भएका महिलाको अर्थपूर्ण सहभागिता बढ्छ होला भन्ने अपेक्षा पनि छ’, आचार्य भन्छिन् । फरक फरक खालका अपांगता भएका व्यक्ति एकै ठाउँमा आएमा यो अझ प्रभावकारी हुने उनी बताउँछिन् । ‘आँखा नदेख्ने मात्र एकै ठाउँमा होइन कि सबै जना एकै ठाउँमा हुनुप¥यो, समान ढंगमा सहभागी हुनुप¥यो’, उनी भन्छिन् ।
सामान्य अपांगता भएका महिलाको तुलनामा अत्यधिक अपांगता भएका महिलाको आवश्यकता बढी हुने भएकाले तिनलाई राज्यका तर्फबाट थप सहयोग हुनुपर्नेमा आचार्य जोड दिन्छिन् ।
प्रकाशित मिति: बुधबार, फागुन २२, २०७५