प्रह्लाद गुरागाईं
विराटनगर : विराटनगरसँग सीमा जोडिएको भारतीय बजार जोगबनी खासै ठूलो बजार होइन । नेपाली उपभोक्ताले धानेको जोगबनी बजार हरेक दिन उत्तिकै भीड हुन्छ । भारतीय उपभोग्य सामग्री सस्तो पाइने लोभमा जोगबनी पुग्ने नेपाली उपभोक्ताको पहिलो लक्ष्य नै हुन्छ, चिनी खरिद गर्नु । किनकि नेपालमा भन्दा भारतीय बजारमा चिनीको मूल्य सस्तो पर्छ ।
सस्तोमा चिनी खरिद गर्न भारतीय बजार पुग्ने नेपालीहरू चिनी मात्र होइन, लत्ताकपडा र अन्य घरायसी सामग्रीमा पनि नेपाली मुद्राको खपत उत्तिकै गर्छन् । तर सस्तोको लोभमा उनीहरूले तौलमा ठगिएको पत्तै पाउँदैनन् । चिनीकै कारण नेपाली उपभोक्ता भारतीय बजारमा लोभिने बुझेर गत वर्ष विराटनगरमा खुलेको भाटभटेनी सुपर मार्केटले एक महिनासम्म सस्तोमा चिनी बेच्ने अफर नै राख्यो । चिनी लगायतका अन्य सामग्री १० प्रतिशत छुट दिएको भाटभटेनीले निश्चित रकमसम्मको खरिदमा एक केजीदखि तीन केजीसम्म चिनी निःशुल्क पाउने योजना नै ल्यायो । दैनिक एक करोडसम्मको ब्यापार गरेको भाटभटेनी विराटनगरले यो महिना पनि चिनीको अफर राख्यो ।
२५ सय रुपैयाँ बराबरको खरिदमा एक केजी चिनी र सात हजार रुपैयाँसम्मको खरिदमा तीन केजी चिनी उपहार राखेको भाटभटेनीले यो पल्टको अफर राख्नुको अर्थ भने भिन्नै छ । सोमबारबाट विराटनगरमा सञ्चालनमा आएको सेन्ट्रल मल एन्ड सेन्ट्रल बजारले उपभोक्ता तान्ने भएपछि भाटभटेनीले त्यस प्रकारको अफर राख्यो । सोमबारबाट सञ्चालनमा आएको सेन्ट्रलले पनि त्यस्तै सिको गर्दै चिनीकै अफर राखेको छ ।
मलका सञ्चालक विकास चौधरीले भने, ‘हो हामीले पनि चिनीको मात्र होइन, अन्य सामान खरिदमा पनि छुटको अफर राखेका छौँ ।’ मलले भने दुई हजारसम्मको खरिदमा एक केजी चिनी सित्तैँमा दिने अफर राखेको छ । अहिले विराटनगरको बजारमा चिनी प्रतिकेजी ७२ रुपैयाँमा बिक्री हुने गरेको छ भने सीमावर्ती भारतीय बजारमा प्रतिकेजी ६० रुपैयाँमा पाइन्छ ।
आजबाट सेन्ट्रल मल सञ्चालनमा
विराटनगरमा आजबाट सेन्ट्रल मल सञ्चालनमा आएको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले एक कार्यक्रमका बीच विराटनगर महानगरपालिका वडा नम्बर ७ स्थित मेनरोडमा रहेको सेन्ट्रल मलको औपचारिक उद्घाटन गरे ।
विराटनगरका तीन औद्योगिक घरानाको लगानीमा रहेको मलमा दुई वटा मल्टिप्लेक्स सिनेमा हल सञ्चालित छन् । सञ्चालक विकास चौधरीका अनुसार एक अर्ब रुपैयाँको लगानीमा मल स्थापना गरिएको हो । १५ कठ्ठा जग्गामा रहेको मलमा करिब ४० हजार वर्गफिटमा डिपार्टमेन्ट स्टोर छ ।
मलमा करिब सय वटा जति विभिन्न कम्पनीका पसलहरू समेत छन् । मलभित्र रेष्टुरेन्ट तथा लाउन्ज, स्वदेशी तथा विदेशी कम्पनीका पसलहरू, बच्चाका लागि गेमजोन सोमबारबाटै सञ्चालनमा आएका छन् । बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म खुल्ला रहने मलले विराटनगरवासीलाई मात्रै नभएर पूर्व क्षेत्रका उपभोक्तालाई लक्षित गरेको सञ्चालकको भनाइ छ । स्ट्रीट लेन डिजाइनमा तयार पारिएको सो मल नेपालकै पहिलो भएको सञ्चालकको दाबी छ ।
मल खुल्ने क्रम बढ्यो
पछिल्लो समयमा विराटनगरमा डिपार्टमेन्ट स्टोर तथा मलहरू खुल्ने क्रम बढेर गएको छ । करिब १५ वर्षअघि स्थापना भएको ओरियन्टल डिपार्टमेन्ट स्टोरले सफलता हासिल गर्न सकेन । विराटनगरकै पहिलो सो डिपार्टमेन्ट स्टोर केही वर्षमै बन्द भयो । सात वर्षअघि विराटनगरमै नेपाल बजार नामक डिपार्टमेन्ट स्टोरको स्थापना भएपछि यस क्षेत्रमा चहलपहल बढेको हो । गतवर्ष नेपालकै प्रतिष्ठित भाटभटेनीले विराटनगरमा आफ्नो १५औं शाखा स्थापना गर्यो ।
यो वर्ष विशाल, देवेनरा र हाइलाइफ ग्रुपको संयुक्त लगानीमा सेन्ट्रल मल सञ्चालनमा आएको छ । यस्तै विराटनगरका उद्योगपति मोती दुगडको लगानीमा सेन्चुरियन मल निर्माणको कार्य धमाधम भइरहेको छ । सेन्चुरियन मलमा चारतारे होटल समेत सञ्चालन गरिने छ ।
प्रकाशित मिति: सोमबार, फागुन २०, २०७५