भर्खरै च्याङ्बा दाइले बिसाएर गह्रौं भारी
चौतारीमा सुस्ताएका छन् एकै छिन
हिमाली बतास पहाडी जीवन ।
क्रान्ति जस्तै जीवन सरल रेखामा कहिल्यै चलेन
बाङ्गोटिङ्गो
कत्ति रुखो भयो बैंस
उकालो ओरालो, उबडखाबड ।
साँच्चै सुख र दुःखमा कुन्नि कस्तो भेद होला !
दस वर्ष अघिकै कुरा त हो नि
छोरी पुतलीलाई रहर सँगालेर
एउटा जामा किनिदिँदा
तोते बोलीमा भनेकी
मेलो लाम्मो बाबा
भरिएर आएका थिए अधीर दुई दृग ।
दुःखको महसुस गर्नलाई
सुखको खास के अनुभव भयो र ?
प्यारी माहिलीलाई फाटेको चोली लाउनमा
कस्तो थियो होला
भित्रिएको पहिलो दिन नै विवश आँसु पुछ्दै भनेकी थिई
गरिबको पनि दिन आउँछ ।
सम्झनाका एक एक पाना
थकाइ बिर्सने बहाना हुन सक्छ
च्याङ्बा दाइ मेरो देश चियाउने आँखीझ्याल
कसरी आउला गरिबको त्यो दिन
पिठिउँमा बोकेर साहुको भारी
बदलिन्छ जीवन भनेर
कसले विश्वास गर्यो र ?
म हुटिट्याउँ होइन आकाश थाम्न
यो देश मैले थामेको पनि होओइन
मैले बुझ्न सकेको पनि होओइन
ठुलाका कुरा,
भोट पाउनेका कुरा,
सरकार चलाउनेका कुरा
उः पर आसनबाट शासन गर्नेका कुरा ।
हामी जस्ताको आफ्ना नेता भएनन्, पार्टी भएन,
पहुँच भएन, कार्यकर्ता भएनौं, जित भएन, सरकार भएन,
समय भएन
भएको यत्ति हो नाम्लो र भारी ।
र त यति बेला
च्याङ्बा दाइले आफूलाई बिल्कुल त्यही भकुन्डो ठानेका छन्
जसलाई फरक फरक खेलाडीले मैदानमा उत्रँदा खेलाए
जित त खेलाडीको भयो खप्नुपर्यो, च्याङ्बा दाइले खेलाडीका हरेक प्रहार ।
धेरै अघि नै हो रेड्वामा सुनेको यो गीत
एक युगमा एक दिन एक चोटि आउँछ
उलटपुलट उथलपुथल हेरफेर ल्याउँछ ।
त्यसयता च्याङ्बा दाइको जीवनमा धेरै उथलपुथल आयो
छोरीलाई मुटुको छिद्राले लग्यो
प्यारीलाई सुत्केरी व्यथाले लग्यो
भएको कटेरो साहुले लग्यो
सुखदुःखको भेद गरिबीको चिथोर्याइले लग्यो ।
--अशोक कुँवर नेत्र
प्रकाशित मिति: सोमबार, फागुन २०, २०७५