काठमाडौं । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् । मंगलबार दिउँसो मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै तामाङले राजीनामा दिएका हुन् ।
शनिबार एक विद्यालयमा आयोजित कार्यक्रममा बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे उनले दिएको अभिव्यक्तिप्रति सर्वत्र आलोचना भएपनि उनलाई राजीनामा दिन नेकपाले सुझाव दिएको थियो ।
पत्रकार सम्मेलनमा राजीनामाको घोषणा गर्दा तामाङले भावुक भएका थिए । उनका आँखा रसाएका थिए भने गला अवरुद्ध भएको थियो ।
राजीनामा घोषणा गर्ने क्रममा बोल्दै तामाङले बंगलादेशमा पढ्ने नेपाली छोरीहरु हिंसामा परेको सुनेपछि सहन नसकी आफूले त्यस्तो अभिव्यक्ति दिएको र सधैं महिला अधिकारको पक्षमा रहेको बताए । आफ्ना कतिपय कमजोरीलाई मूल मुद्दा बनाएर षडयन्त्रपूर्वक विवादमा ल्याएको पनि उनको भनाइ थियो ।
प्रकाशित मिति: सोमबार, साउन ७, २०७५