काठमाडौं । गत बिहीबारदेखि राजधानीमा सञ्चालन भएको १२ औं राष्ट्रिय शैक्षिक परामर्श (ईक्यान) मेलाको आइतबार समापन भएको छ । चार दिनसम्म चलेको मेलामा १ लाखभन्दा बढी विद्यार्थी तथा अभिभावकहरुले मेलाको अवलोकन गरेका छन् ।
आइतबार साँझ होटल अन्नपूर्णमा भएको समापन कार्यक्रममा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेर बहादुर तामाङ प्रमुख अतिथि रहेका थिए । सो अवसरमा बोल्दै मन्त्री तामाङले अबको केही बर्षभित्रै विदेशी विद्यार्थीहरुको शैक्षिक गन्तव्य नेपाल बनाउनका लागि सरकारले योजना बनाएको बताए । उनले यसका लागि नेपाल शैक्षिक परामर्श संघले पनि महत्वपूर्ण साथ दिन सक्ने भन्दै सरकारको योजनामा हातेमालो गर्न आग्रह गरे ।
एकै स्थानमा विश्वका उत्कृष्ट गन्तव्य मुलुकहरुको शिक्षा प्रणाली र अवसरको विषयमा जानकारी दिनका लागि मेलाको आयोजना गरिएको र उद्देश्यअनुरुप मेला पूर्णतया सफल भएको आयोजक संस्था नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) का अध्यक्ष विष्णुहरि पाण्डेले बताएका छन् ।
मेलाको अन्तिम दिनसम्म पनि विदेशमा उच्च शिक्षा अध्ययनका लागि परामर्श लिन विद्यार्थी तथा अभिभावकहरु उल्लेख्य संख्यामा मेलामा सहभागी भएका थिए । मेला संयोजक तथा ईक्यानका प्रथम सचिव दिपकराज भुसालका अनुसार लक्ष्य लिइएको भन्दा बढी संख्यामा मेलाको अवलोकन भएको छ । उनले १ लाखभन्दा बढी विद्यार्थी र अभिभावकले मेला अवलोकन गरेको बताए । भुसालका अनुसार पहिलो दिन १५ हजार, दोस्रो दिन ४० हजार, तेस्रो दिन ३५ हजार र अन्तिम दिन १५ हजारले मेला अवलोकन गरेका छन् ।
अन्तिम दिन मेला चलिरहँदा चर्चित हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल, नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह लगायत कलाकारहरुले मेला अवलोकन गरेका छन् । यस्तै अपराध अनुसन्धान महाशाखाका प्रमुख (एसएसपी) धिरजप्रताप शाहले मेला अवलोकन गर्दै मेला व्यवस्थित, समयानुकूल र उपयोगी भएको प्रतिक्रिया दिएका छन् ।
मेलामा निलगिरी डेन्टल प्रा. लि.बाट निःशुल्क डेन्टल क्याम्प, मनमोहन मेमोरियल अस्पतालबाट निःशूल्क प्राथमिक उपचार केन्द्र एवम नेपाल रेडक्रस सोसाइटीबाट रक्तदान कार्यक्रम नियमित रुपमा मेला अवधिभरका लागि सञ्चालन भएको थियो । रक्तदान कार्यक्रममा १०३ जनाले रक्तदान गरेका छन् ।
मेलामा रहेका २२८ वटा शैक्षिक परामर्शदातृ संस्थाका स्टलबाट परामर्शदाताहरुले सेवा दिएका थिए । अष्ट्रेलिया, यूरोप, जापान, अमेरिका, क्यानाडा, कोरिया, मलेशिया, फिलिपिन्स, भारत लगायत देशको शिक्षा नीति, शैक्षिक कार्यक्रम, यूनिभर्सिटी, कलेज र विषयहरुका बारेमा सम्पूर्ण जानकारी गराइएको थियो । अवलोकनकर्ताहरुले विशेष गरी ईन्जिनियरिङ, मेडिकल, आई.टी., नर्सिङ, व्यवस्थापन जस्ता विषयहरुका बारेमा जानकारी लिन बढी चासो राखेको पाइएको छ ।
मेलाको टाईटल स्पोन्सर्समा युरो एसिया एजुकेसन कन्सल्टेन्सी प्रा. लि., ईन एसोसिएसन विथमा मर्सि एजुकेसन कन्सल्टेन्सी प्रा. लि. र मेन स्पोन्सर्समा काठमाण्डौ ईन्फोसिस एजुकेसनल कन्सल्टेन्सी प्रा. लि रहेको थियो ।
प्रकाशित मिति: आइतबार, साउन ६, २०७५