काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै विगत २२ दिनदेखि अनसनमा रहेका डा. गोविन्द केसी र सरकारबिच वार्ताको प्रक्रिया अघि बढ्न सकेको छैन । वार्ताका सम्बन्धमा केसी पक्ष र सरकार पक्षले दोहोरो आरोप प्रत्यारोप मात्र लगाउने गरेका छन् ।
सरकारले चिकित्सा शिक्षा विधेयक फिर्ता नलिएसम्म कुनैपनि वार्तामा नबस्ने अडान लिएका कारण उनी वार्तामा नबसेको सरकार पक्षले आरोप लगाएको छ । सरकारी पक्षले विधेयक फिर्ता लिने विषय संसदको भएकाले यसमा आफूले केही गर्न नसक्ने बताउँदै आएको छ ।
यस्तै डा. केसी पक्षले सरकारले वार्ताको लागि कुनै पहल नगरेको आरोप लगाएको छ । सरकारले वार्ता गर्नु त कहाँ हो कहाँ, फोन समेत उठाउन छाडेको वार्ता टोलीका संयोजक डा. अभिषेकराज सिंहले बताए ।
अनशनकै अवस्थामा सरकारले बिहीबार जुम्लाबाट जबर्जस्ती काठमाडौं ल्याएपछि केसीको स्वास्थ्य अवस्था झन्झन् बिग्रँदै गइरहेको छ । उनले उपचार गर्न समेत नदिइरहेको जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०७५