काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले कमजोर त्यान्द्रो समाएर आन्दोलन गर्न खोजेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले जनताको पक्षमा गरिरहेको कामलाई आझेलमा पार्न अनेकन प्रयास भएको र बेमौसममा कराउनेहरु केही दिनमा आफैँ चुप लाग्नेसमेत स्पष्ट पारे ।
वाम गठबन्धनलाई जनताले दुई तिहाइ बहुमतले जिताएर पठाएको भन्दै उनले भने, “पार्टीले निर्वाचनमा उठाएका कुरा सरकारका नीति तथा कार्यक्रममार्फत लागू गर्छ । यसमा आत्तिनु पर्दैन ।”
प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा विधेयक लगायतका विषयमा सांसदलाई अडानका साथ कुरा राख्न आग्रह गरे,“अरु चाँही साउनको सिस्नु जस्तो फस्टाउने अनि हामी चाँही ओइलाउने हुन्छ ?”
उनले काठमाडौँमा १० वर्ष मेडिकल कलेज खोल्न नपाउने, एउटा विश्वविद्यालयले पाँचवटा भन्दा बढी कलेजलाई सम्बन्धन नदिने जस्ता कुरा व्यवहारिक नभएको दाबी गर्दै संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक सरकारको नीतिअनुसार नै भएको बताए ।
संस्कृत विश्वविद्यालयका उपकुलपति स्वीकृत नलिई विदेश जान लागेकाले उनलाई रोकिएको प्रधानमन्त्रीले स्पष्ट पारे ।
निर्वाचन आचारसंहिता लागू भएपछिका राजनीतिक नियुक्ति खारेज गरिएको र त्यो विधि बसाउनका लागि गरिएको प्रधानमन्त्रीको भनाइ थियो ।
प्रकाशित मिति: आइतबार, असार २४, २०७५