चितवन । बर्षाका कारण निरन्तर एकपछि अर्काे पहिरो खस्न थालेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्नेहरुका लागि वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिइएको छ । दैनिक १० हजारभन्दा बढी यातायातका साधन चल्ने यो मार्ग पहिरोले अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् ।
नारायणगढबाट मुग्लिनसम्मको दूरी छोटो भएपनि पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रुहरुलाई लामो समयसम्म सडकमा अलपत्र पर्नुपर्ने अवस्था रहेको छ । यसको वैकल्पिक मार्गको रुपमा पश्चिम नेपालबाट काठमाडौँ जान आउने सवारीका साधनका लागि बुटवलबाट पाल्पा, स्याङ्जा, पोखरा हुँदै मुग्लिन निस्किएर काठमाडौँ जाने सकिन्छ ।
बुटवलबाट नारायणगढ हुँदै मुग्लिनसम्मको दूरी १५० किलोमिटर हो भने बुटवलबाट पोखरा हुँदै मुग्लिनको दूरी २३३ किलोमिटर पर्छ । ८३ किलोमिटर लामो यात्रा गर्नुपरे पनि जोखिम कम हुने सुझाव दिइएको छ ।
त्यसैगरी, पूर्वी नेपालबाट काठमाडौँ जाने सवारीले त्रिभुवन राजपथ हुँदै हेटौँडाबाट नौबिसेको बाटो प्रयोग गर्न सक्छन् । नारायणगढबाट मुग्लिन हुँदै काठमाडौँ जाँदा १४६ किलोमिटर दूरी पर्छ भने नारायणगढबाट हेटौँडा–नौबिसे हुँदै काठमाडौँ जाँदा १८७ किलोमिटर दूरी पर्दछ । यो दूरी ४१ किलोमिटरमात्रै बढी हो । जुन एक घण्टाको थप यात्राले सहज पार गर्न सकिन्छ ।
तर पूर्वी नेपालबाट आएका सवारीलाई हेटौँडाबाट सोझै काठमाडौँ जाँदा ११५ किलोमिटरमात्रै पर्छ । हेटौँडा– नारायणगढ–मुग्लिन हुँदै काठमाडौँ जाँदा भने २१८ किलोमिटर पर्छ । यो सडक प्रयोग गरेमा १०३ किलोमिटर दूरी कम हुन्छ ।
नारायणगढबाट काठमाडौँ जाने यात्रुका लागि पनि यो सडक सहज छ । तर, त्रिभुवन राजपथ सडक साँघुरो भएकाले ठूला सवारी सञ्चालन कठिन छ भने साना सवारीलाई दूरी छोटो पर्छ । यद्यपि यी सडक कम प्रयोग भई सवारीको चाप नारायणगढ–मुग्लिन सडकखण्डमा बढिरहेको छ ।
प्रकाशित मिति: मंगलबार, असार १२, २०७५