काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही असार ५ गतेदेखि १० गतेसम्म आफूले गरेको छ दिने चीन भ्रमण उपलब्धिमूलक र सफल भएको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रमणका उपलब्धिका बारेमा जानकारी गराएका हुन् । उनले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने, विगतमा भएका सहमति तथा सम्झौतालाई कार्यान्वयन गर्ने लगायतका विषयमा आफ्नो चीन भ्रमण केन्द्रित रहेको बताए ।
भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सि जिन पिङ, समकक्षी लि खछ्याङ, चिनियाँ जनकंग्रेसका प्रमुख तथा तिब्बत सरकारका प्रमुखसँग भेटवार्ता भएको उल्लेख गर्दै उनले राजनीतिक स्थायित्व, आर्थिक समृद्धिको दिशामा भ्रमणले महत्वपूर्ण योगदान गरेको उल्लेख गरे ।
हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाल विस्तारका लागि सहमति भएको, रेलमार्ग, सडक सञ्जालको विस्तार, प्रसारण लाइनलगायतका विषयमा महत्वपूर्ण सम्झौता, स्थल तथा हवाई सञ्जालको विस्तार, कोशी, गण्डकी र कर्णाली आर्थिक करिडोर निर्माण लगायत सरकारी तवरमा १४ र निजी तवरमा आठ वटा गरी २२ वटा विषयमा सहमति भएका विषयमा प्रधानमन्त्रीले सदनलाई जानकारी गराए ।
राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिइएको जानकारी दिँदै उनले आफ्नोतर्फबाट प्रधानमन्त्री लीलाई नेपाल भ्रमणको निम्ता दिएको उल्लेख गरे ।
प्रकाशित मिति: सोमबार, असार ११, २०७५