सुर्खेत । कर्णाली प्रदेशमा ‘जनतासँग मुख्यमन्त्री’ रेडियो कार्यक्रम शुरु भएको छ । प्रदेश अन्तर्गत रहेका ४२ वटा एफएम रेडियोबाट कार्यक्रम सञ्चालन हुने भएको हो ।
प्रत्यक्ष रुपमा जनताका जिज्ञासा, गुनासा, सुझाव र प्रश्न मुख्यमन्त्रीलाई सोध्न पाइने र प्रदेशको विकास, सुशासनमा गति दिने मुख्य उद्देश्य राखेर कार्यक्रम शुरु गरिएको जनाइएको छ ।
सोमबारबाट कार्यक्रमको पहिलो श्रृंखला सुरु भएको छ । पहिलो दिनको कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग नागरिकले विकास निर्माण, सुशासन, रोजगारी लगायतका विषयमा जिज्ञासा राखेका थिए ।
विकास निर्माण, सेवा प्रवाह र पारदर्शिताका विषयमा जिज्ञासा तथा सुझाव आएको र तिनको हल गरिने बताउँदै मुख्यमन्त्री शाहीले जनताले खबरदारी गरेको कुराले प्रदेशमा सुशासन कायम हुनुका साथै आगामी योजना निर्माणमा सहयोग पुग्ने बताएका छन् ।
आफ्ना जिज्ञासा खुलेरै प्रत्यक्षरुपमा मुख्यमन्त्रीसँग राख्न पाएपछि कर्णालीवासीले खुशीको अनुभूति गरेका छन् ।
प्रकाशित मिति: सोमबार, असार ११, २०७५