चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा लगातार पहिरो जान थालेपछि यात्रुहरुलाई सास्ती बढेको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलोमा राति २ः३५ बजे पहिरो खसेर अवरुद्ध भएको सडकमा सोमबार दिउँसो १२ बजेसम्म अन्य चार ठाउँमा पहिरो खसिसकेको छ ।
सडकखण्डमा बिहानैदेखि रोकिराखेका सवारी साधनहरु गन्तव्यतर्फ जान पाएका छैनन् । रातीको पहिरोले अवरुद्ध सडक विहान ८ बजे एकतर्फी खुलाइए पनि लगत्तै पहिरो गएको थियो । त्यसपछि पनि १०ः३० बजे र १२ः०० बजे चार किलो भन्ने स्थानमा पुनः पहिरो गएपछि यातायातमा अबरोध सिर्जना भएको हो ।
पहिरो पन्छाउन विहानैदेखि प्रहरीको सक्रियता रहेको जनाइएको छ । पटक पटक पहिरो खस्न थालेपछि जुनसुकै बेला पहिरो खस्न सक्ने भन्दै सजग रहन र वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ ।
प्रकाशित मिति: आइतबार, असार १०, २०७५