काठमाडौं । वैदेशिक रोजगारीका बहानामा बेचबिखन गर्न लैजाँदै गरेका १० महिलालाई प्रहरीले उद्धार गरेको छ ।
महानगरीय प्रहरी प्रभागले नयाँ बसपार्कबाट बसमा राखेर बुटवल हुँदै विदेश पठाउन लागेको गोप्य सूचनाका आधारमा नयाँ बसपार्क, स्वयम्भू र कलंकीबाट शनिबार र आइतबार उद्धार गरेको हो ।
उनीहरुलाई विदेशमा लगेर जागिर लगाइदिने प्रलोभनमा भिसासमेत नलगाइकन बुटवल लैजाँदै गर्दा उद्धार गरिएको र त्यसमध्ये चार जना आफूखुशी म्यानपावरबाट जान लागेको, चार जनालाई पासपोर्टसहित बुटवल हुँदै भारत जाँदै गर्दा र बाँकी दुई जनालाई बिना पासपोर्ट भारत लैजाँदै गर्दा नियन्त्रणमा लिएको जनाइएको छ ।
आफूखुशी जान लागेका चार जनालाई भने सामान्य सोधपुछपछि परिवारको जिम्मा लगाइएको छ भने बाँकी छ जनालाई संरक्षणका लागि शक्ति समूह चुच्चेपाटी पठाइएको प्रभागले जनाएको छ । लैजाने व्यक्ति भने फरार रहेका छन् ।
प्रकाशित मिति: आइतबार, असार १०, २०७५