भक्तपुर । शुक्रबार बिहान ५ः३० बजे मध्यपुरथिमि नगरपालिका सानोठिमी क्याम्पस अगाडि टिपरले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ ।
पेप्सिकोलाबाट सानोठिमीतर्फ गइरहेको बा ६६ प ८५५३ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको बा २ क ३९३४ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक चेलाङ घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ बस्दै आएका ४८ वर्षीय चेतबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीव्र गतिमा आएको टिपरले अगाडि कुदिरहेको स्कुटरलाई पछाडिबाट ठक्कर दिएपछि टिपर फरार भएको थियो । फरार टिपरलाई प्रहरीले जगातीबाट नियन्त्रणमा लिएको छ ।
प्रहरीले टिपर चालक ललितपुर बस्ने ३० वर्षीय राजन खड्गी र टिपरलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले जानकारी दिए ।
यसअघि गत जेठ ३० गते भक्तपुरको जडिबुटीमा टिपरले स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा स्कुटरको पछाडि सिटमा रहेकी एक महिलाको मृत्यु भएको थियो भने त्यसको केही दिनअघि भक्तपुरको साँगा नजिक टिपरको ठक्करबाट स्कुटर चालक र त्यसमा सवार एक बालक र महिलाको ज्यान गएको थियो ।
केही समययता उपत्यकामा टिपरले ठक्कर दिएर हुने दुर्घटनाहरु बढिरहेको पाइएको छ । यसमा पनि बढी जसो मोटरसाइकल र स्कुटरहरु टिपरको निशाना बनेका छन् ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०७५