हेटौंडा । गत मंगलबारबाट सुरु भएको नेपाली काँग्रेस जिल्ला सभापतिहरुको भेला बिहीबार समापनको मोडसम्म आइपुग्दा आरोप, प्रत्यारोप, असन्तुष्टि र बहिष्कारको चरणसम्म पुगेको छ ।
सभापति शेरबहादुर देउवाले भेलालाई निष्कर्षविहिन बनाउन खोजेको आरोप लगाउँदै भेलाको दोस्रो दिन कांग्रेसका प्रभावशाली दुई नेताहरु प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले भेलाको बहिष्कार गर्दै हेटौंडा छाडे ।
उदघाटन सत्रमा प्रभावशाली नेताहरुलाई बोल्न नदिइएको र औपचारिक जमघटमा सीमित गर्ने प्रयास गरिएको आरोप समेत सभापतिहरुको छ । महामन्त्री शशांक कोइरालाभन्दा पछि नियोजित रुपमा विजय कुमार गच्छदारलाई मन्तव्यको क्रममा राखेको प्रति कोइरालाको समेत असन्तुष्टि रह्यो ।
उदघाटन समारोहमा मन्च बहिस्कार गरेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई भेला अवधिभर मन्चमा पटकपटक बोलाइए उनी मञ्चमा गएनन् ।
जिल्ला सभापतिहरु पौडेल पक्षका धेरै भएको र केही संस्थापन पक्षीय नेताहरु समेत देउवा विरोधी खेमामा जुटेको देखेपछि संस्थापन पक्षले भेला निष्कर्षविहिन बनाउन खोजेको केहीको आरोप छ ।
चीनकाजी श्रेष्ठ, गोविन्द भट्टराई, हृदयराम थानी, वीरबहादुर बलायर लगायतका अन्य केही नेताहरुले पनि भेला सकिनु अगावै हेटौंडा छोडिसकेको जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, असार ६, २०७५