बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार भएको भेटका क्रममा राष्ट्रपति सीले नेपालको विकास यात्रामा चीन साझेदार बन्न तयार रहेको बताएका छन् ।
भेटका क्रममा प्रधानमन्त्री ओलीले रेलवे र उत्तर दक्षिण जोड्ने सडक तथा नाका खुलाउनुपर्नेमा जोड दिएका थिए । राष्ट्रपति सीले रेलवेको सम्भाव्यता अध्ययन गर्न अधिकारीहरुलाई निर्देशन दिइसकेको बताएको स्रोतले जनाएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार रेल्वेको डीपीआर निर्माणबारे भोलि नैं समझदारी हुन लागेको छ । यो रेल नाफा घाटा भन्दा पनि रणनीतिक महत्वको भएको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘मोडालिटीबारे हामी छलफलमै छौं । तर, हामी आफ्नो तर्फबाट पनि योगदान गर्न तयार छौं ।’
भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताएका र सीले एसियाका धेरै देशको भ्रमण गरेको उल्लेख गर्दै नेपाली जनताले पनि स्वागतको चाहना राख्नु स्वभाविक भएको बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, असार ५, २०७५