काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ११९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ६ दिने भ्रमणका लागि मंगलबार बिहान चीन प्रस्थान गरेका छन् ।
भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला विज्ञ डा. राजन भट्टराई, मुख्यसचिव लोकदर्शन रेग्मी, अर्थसचिव डा. राजन खनाल, परराष्ट्रसचिव शंकरदास वैरागी, वाणिज्य सचिव चन्द्रकुमार घिमिरे, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणा लगायत रहेको जनाइएको छ ।
चिनियाँ समकक्षी लि खछ्याङको निमन्त्रणामा चीन भ्रमण थालेका प्रधानमन्त्री ओलीले बुधबार अपराह्न चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
चीन भ्रमणको क्रममा उच्चस्तरीय राजनीतिक भेटवार्ता हुनुका साथै ऊर्जा, जलस्रोत र पुनर्निर्माणका विषयहरुमा दुई देशबीच सम्झौता पनि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमण सकेर प्रधानमन्त्री ओली असार १० गते नेपाल फिर्ता हुनेछन् ।
प्रकाशित मिति: सोमबार, असार ४, २०७५