काठमाडौं । सरकारले सिन्डिकेटको पक्षमा लागेर सेवा अवरुद्ध गरेका यातायात संघ तथा समितिका सबै काउन्टर नयाँ बसपार्कबाट हटाएको छ । शुक्रबार साँझ सुरक्षाकर्मी तथा यातायात व्यवस्था विभागका कर्मचारी पुगेर काउन्टर हटाएका हुन् ।
सरकारको निर्देशन अनुरुप बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिले साँझ तीन दर्जन समितिका काउन्टरहरु हटाएको हो । लोत्सेका महाप्रवन्धक सुनिल कुँवरले अब कम्पनीका काउन्टरहरु व्यवस्थित रुपमा राख्ने जानकारी दिए ।
भाडा नतिर्ने र व्यवस्थापनमा पनि असहयोग गर्ने गरेपछि काठमाडौं महानगरपालिकाले बसपार्क व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिएको थियो । तर, निजी क्षेत्रको व्यवस्थापक कम्पनी लोत्सेलाई पनि व्यवसायीहरुले सहयोग गरिरहेका थिएनन् ।
सरकारले दिएको निर्देशनअनुरुप अत्यावश्यक सेवामा हड्ताल गरेर सरकारलाई असहयोग गरेका समितिहरुको काउन्टर बसपार्कबाट हटाएको उनले जानकारी दिए ।
अब बसपार्कभित्र कम्पनीहरुलाई व्यवस्थित रुपमा राखिने यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए ।
सेवा अवरूद्ध गर्नेको रूट इजाजत खारेज, नयाँलार्इ प्रदान
यसैबीच यातायात व्यवस्था विभागले नयाँ बसपार्क देखि रत्नपार्क चल्ने २६ वटा माइक्रो बसको रुट इजाजत खारेज गरेको छ । यस रूटमा विभागले शुक्रबार नै दिगो सार्वजनिक यातायात प्रालीलार्इ नयाँ रुट इजाजत दिएको छ।
यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सिराम अर्यालले दिगो सार्वजनिक यातायातलार्इ १७ वटा बस चलाउन पाउने गरि रुट इजाजत दिएको जानकारी दिए।
तर इजाजत पाउने दिगो सार्वजनिक यातायातसँग हाल कुनै पनि बस छैनन्। उसले एक यहि महिना भित्र बस ल्याएर सेवा प्रदान गर्ने जनाएको छ ।
त्यसै गरि यो रुटमा आउन चाहने सबै कम्पनीका लागि इजाजत खुल्ला गरिएको विभागका प्रवक्ता अर्यालले जानकारी दिए।
यातायात व्यवस्था विभागले देशैभरिका सवारीसाध नचलाउने समितिका गाडीहरुको लगत संकलन गरेको छ।लगत संकलन गरेर अहिले रुट इजाजत खारेजका लागि विभागमा छलफल भैरहेको विभागका प्रवक्ता अर्यालले जानकारी दिए।
सरकारले राजपत्रमै सुचना प्रकाशन गरेर अत्यावश्यक सार्वजनिक सेवा रोक्न नपाइने निर्णय गरेपनि नेपाल यातायात राष्ट्रिय महासंघको अगुवाइमा गाडि नचलाएर हड्ताल गरेपछि रुट इजाजत खारेज गर्न लागिएको हो।
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०७५