जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण तयारीबारे भारतीय पक्षले चासो देखाएको छ । २८ वैशाखमा हुने भ्रमण तयारीको जानकारी लिन भारतीय राजदूत मञ्जीवसिंह पुरी नेतृत्वको टोली बुधबार जनकपुर आएको छ ।
यता भारतीय इन्डियन फोर्सको हेलिकोप्टर बुधबार बाह्रबिघा मैदानमा अवतरण गरेको छ । जेडपी ५११९ हेलिकोप्टर पूर्वाभ्यासका लागि आएको हो । मोदी पटनाबाट तीनवटा होलिकोप्टर लिएर जनकपुर आउँदै छन् ।
भ्रमणका वेला तीन हेलिकोप्टर अवतरणका विषयमा अभ्यास गरिएको हेलिकोप्टरका पाइलटले सुझाबसमेत दिएका छन् । उनले नेपाली अधिकारीलाई ३० देखि ४० मिटरको दूरीमा हेलिप्याड बनाउन सुझाब दिएको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार प्रदेश २ सरकारले भने मोदीको हेलिकोप्टर जनकपुर विमानस्थलमा अवतरण गराउन भारतीय पक्षलाई आग्रह गरेको छ । बाह्रबिघामा बालुवा–गिट्टी बढी भएकाले हिँड्न समस्या हुन सक्ने भन्दै यस्तो आग्रह गरेको स्रोतले जनायो ।
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०७५