चितवन । चीनलाई उपहार दिन दुर्लभ एक सिंगे गैँडाको केटोलाई चितवन राष्ट्रिय निकुञ्जको खोरियामुहानबाट नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएको दुर्लभ एक सिंगे गैडाको केटोलाई रत्ननगरस्थित सौराहामा बनाइएको पिट बोमामा ल्याएर राखिएको छ ।
निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत खोरीयामुहानबाट शनिबार साँझ ६ बजे नियन्त्रणमा लिइएको गैँडाको केटोलाई राति ११ः३३ बजेको समयमा पिट बोमामा ल्याएर राखिएको हो ।
केटोलाई काठको खोरमा राखेर पिकअप भ्यानबाट सौराहा ल्याइएको थियो । गैँडामात्रै अट्ने निश्चित आकारको खाल्डोमा चारैपट्टि काठैकाठले घेरेर बनाइएको खोर पिट बोमामा राखिएको छ।
गैडाको आनीबानी, अवस्था र नियन्त्रण प्रक्रिया बुझ्न चीनको चिमे लङ सफारीका सह¬प्रबन्धक याङ वैशाख ६ गतेदेखि चितवनमा छन्। नियन्त्रणमा लिइएको केटोलाई एक महिना पिट बोमामा राखेर खानेकुरा दिई बानी पारेपछि पुनः अर्काे ठूलो बोमामा राखिने कोषका प्रमुख अर्यालले जानकारी दिए ।
नेपालले चीनलाई दुई जोडी दुर्लभ गैँडा उपहार स्वरुप दिँदै छ। दुई जोडी गैँडा राख्नका लागि दुई वटा पिट बोमा र दुई वटा ठूलो बोमा तयार भएको छ ।अर्काे एउटा पनि पिट बोमा बनाउने तयारी छ । आगामी असारभित्र गैँडा चीन पठाउने तयारी भइरहेको छ।
यही वैशाख ६ गतेदेखि चिनियाँ प्रतिनिधिसहितको टोलीले गैँडा नियन्त्रणका लागि प्रक्रिया शुरु गरेको थियो । गैडा नियन्त्रणमा चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधिसहित ५० जना खटिएका छन् भने १० हात्ती परिचालन गरिएको छ।
निकुञ्जबाट एक भालेसहित दुई पोथी नियन्त्रणमा लिएपछि सौराहामा रहेको एउटा भाले केटोसहित चार वटा गैँडा चीन पठाइने छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०७५