मोरङ । गोली लागि घाइते भएका हिन्दु धर्मगुरु श्री निवासाचार्यको उपचार पछि घर फर्किएका छन्।
तीन साताको उपचारपछि गुरु श्रीनिवासाचार्यलाई डिस्चार्ज दिइएको हो । यता उनको उपचारका लागि लागेको सबै खर्च सरकारले व्यहोर्ने भएको छ ।
२१ दिन अस्पतालमा उपचार गर्दा कुल खर्च १ लाख ५५ हजार रुपैया खर्च भएको अस्पतालले जनाएको छ। अस्पतालले उपचारका क्रममा १ लाख ३० हजार रुपैया र औषधीमा २५ हजार रुपैयाको खर्च नेपाल सरकार गृहमन्त्रालयले ब्यहोर्ने जानकारी दिएको छ ।
यसैगरि, अस्पतालले गुरुको अवस्थामा धेरै सुधार आएको कारण डिस्चार्ज गरेको जनाएको छ। स्वास्थ्य अनुकुल बातावरणका लागि गुरु काठमाडौं प्रस्थान गरेका छन्। पत्रकार सम्मेलनमा धेरै बोल्न नरुचाएका गुरुले सम्पूर्ण भक्तजन तथा अस्पताललाई धन्यवाद ज्ञापन गरेका थिए।
२१ दिन अस्पतालमा उपचारका लागि खटिएका डा. सुदिप खनिया तथा उनको टोलीलाई गुरु निवासाचार्यले सम्मान पनि गरेका थिए। गत चैत्र २५ गते आइतबार अज्ञात ब्यक्तिले गोली प्रहार गरि घाइते भएका गुरु श्रीनिवासाचार्यलाई डा. सुदिप खनियाको टोली उपचार गरेको थियो।
गोली प्रहार भएपछि घटनामा संलग्न भएको आशंकामा पाच जनालाई प्रहरीले पक्राउ गरेको थियो। यद्यपी हाल तीनलाई सोधपुछ पछि छाडिएको मोरङ प्रहरी प्रमुख एसपी अरुण बीसीले जानकारी दिए।
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०७५