चितवन । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी भित्रका अपराधिक तत्वहरुलाई कारवाही गर्ने चेतावनी दिनुभएको छ । प्रहरी मातहतका प्रमुखहरुलाई निर्देशन दिन चितवन आएका खनालले पत्रकारसंग कुराकानी गर्दै प्रहरी भित्रका केही नालायक सदस्यहरुले गरेको कामले समग्र प्रहरी संगठन बदनाम हुन नहुने बताउनुभयो ।
प्रहरी संगठनभित्र केही त्यस्ता किराहरु रहेको र त्यस्ता किराहरुलाई फाल्नुपर्ने महानिरीक्षक खनालले बताउनुभयो ।
उहाँले प्रहरी संगठन सुधारका लागि नै कारवाही र पुरस्कारको प्राबधान राखिएको स्पष्ट पार्नुभयो । खनालले सरकार र जनताको अपेक्षा पूरा गर्ने गरी काम गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अपराध नियन्त्रण र अनुसन्धानका लागी छुट्टै रणनिती तयार भएको र,त्यो प्रभावकारी रुपमा कार्यान्वयन हुने उहाले बताउनुभयो । देशभरका सबै प्रहरी युनिटलाई कुनै कसर बाँकी नराखी जनताको काम गर्न निर्देशन दिएको खनालले बताए ।
अब नागरिक मैत्री प्रहरी हुने, अपराध नियन्त्रण पहिलो प्राथमिकता रहने , समाजमा राम्रो सन्देश जाने किसिमले काम भैरहेको र नितरन्तर हुने खनालले बताउनुभयो । प्रहरी संगठनलाई प्राप्त स्रोतसाधन र जनशक्तिको अभाव भएको भन्दै उहाले स्रोत साधनलाई अधिकतम प्रयोग गरेर काम गरिने बताउनुभयो ।
प्रविधिले अझै जनशक्तिको ठाँउ लिन नसकेकोले प्रदेश संरचना अनुसार जनशक्ति बढाउदै जाने खनालले प्रतिबद्धता जनाउनुभयो । जुन अपेक्षा राखेर सरकारले उहालाइ यो जिम्मेवारी दिएको छ, त्यसलाई पूरा गर्न कुनै कसर बाँकी नराख्ने उहाको भनाइ थियो । खनालले संघिय प्रहरी ऐन आइसकेपछि त्यसले निदृष्ट गरे अनुसार काम हुने दावी गर्नुभयो ।
संघियतामा प्रहरीको संरचना कस्तो बन्ने बिषयमा गृह मन्त्रालयमा कमिटी बनिसकेको भन्दै छिट्टै अन्तिम रुप दिने तयारी भैरहेको उहाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०७५