चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले एसिड प्रहारबाट घाइते भएकी चितवनकी कल्पना श्रेष्ठको स्वास्थ्य स्थिति बुझ्न भरतपुर अस्पताल पुगेका छन् ।
उनलार्इ सोमबार दिउँसो जिल्ला ट्राफिक कार्यालय चितवनका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँले उनीमाथि एसिड खन्याएका थिए। आफ्नो प्रेम अस्वीकार गरेका कारण श्रेष्ठको घर नजिक एसिड प्रहार गरेपछि उनी गम्भीर घाइते भएकी थिइन् ।
प्रहरी अधिकारीले नै महिलामाथि एसिड प्रहार गरेपछि प्रहरी प्रशासनको बागडोर समालेका गृहमन्त्री कल्पनाको अवस्था बुझ्न अस्पताल पुगे। भेटका क्रममा बोल्दै गृहमन्त्री बादलले दोषी प्रहरीलाई कठोर कार्वाही गर्ने बताए ।
पीडित महिला कल्पनाले आफुलाई मार्ने उद्देश्यले एसिड प्रहार गरेको दुःखेसो पोख्दै कडा कार्वाही गर्न मन्त्रीलाई आग्रह गरेकी थिइन् ।
उनले आफुलाई मिनिरल वाटरको बोत्तलमा एसिड राखेर विगत लामो समयदेखि प्रहार गर्ने उद्देश्य खनियाँ हिडेको खुलासा समेत गरिन् ।
उनको गुनासो सुनेपछि गृहमन्त्री रामबहादुर थापा बादलले घटना दुःखद् भएको भन्दै यसले प्रहरी संगठन र गृह मन्त्रालयलाई नै स्तब्ध बनाएको बताए । गृहमन्त्री थापाले प्रहरीभित्र ठूलै सुधार गर्नुपर्ने बताउँदै राष्ट्र सेवकबाटै महिला दिदी बहिनी सुरक्षित नहुनु निकै ठूलो र दुःखद् पक्ष भएको बताए ।
प्रहरी सुधारका लागि अब ठोस कदम चाल्ने गृहमन्त्रीकोे भनाई थियो । यसैबीच घटनामा संलग्न प्रहरी खनियालाई चितवन प्रहरीले निलम्बन गरि कार्वाही गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी नायब निरीक्षक दिपक थापाले जानकारी दिए ।
खनियाँलाई मान्छेको ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाई ६ दिनको म्याद थप गरि अनुसन्धान तीब्र पारिएको उनले बताए ।
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५