चितवन । गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रमा जस्तै अर्थतन्त्रमा देखिएका सिण्डिकेटको अन्त्य गर्नु पर्ने बेला आएको बताउनु भएको छ । देश विकासका लागि सिण्डकेट अन्त्य गर्न जरुरी रहेको भन्दै अब हरेक क्षेत्रमा लगाईएका सिण्डिकेट सरकार तोड्ने अभियानमा लागेको बताउनुभयो ।
रत्नगर उद्योग वाणिज्य संघ रत्ननगरको १९औ साधारणसभाको सोमवार रत्ननगरमा उद्घाटन गर्दै मन्त्री थापाले अहिलेको समय विकास र समृद्धिको रहेकोले यस्ता विकृतिहरुलाई तोड्न आवश्यक रहेको बताउनुभयो ।
अहिले भ्रष्टाचार मौलाउँदै गएको भन्दै मन्त्री थापाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता हुन जरुरी रहेको बताउनुभयो । देशलाई आर्थिक समृद्धितर्फ लैजानका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने भन्दै उहाँले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै औद्योगिकीकरण गर्न जरुरी रहेको बताउनुभयो ।
उहाँले राजनीतिक व्यवस्था परिवर्तन भइसकेको भन्दै अबको समय विकास र समृद्धिको रहेको समेत बताउनुभयो ।यस्तै मन्त्री थापाले विकास र समृद्धिका लागि बाधक बनेका ऐन नियमलाई परिमार्जन गर्दै देशमा अर्थतन्त्र आत्मनिर्भर बनाउनु आवश्यक रहेको उहाँले बताउनुभयो ।
विकासका निम्ति अनुशासन आवश्यक रहेको भन्दै मन्त्री थापाले समाजमा हुने अपराध, भ्रष्टाचार र सिमानामा हुने अनैतिक क्रियाकलाप रोक्न जरुरी रहेको बताउनुभयो । मन्त्री थापाले औद्योगिक क्षेत्रको सुरक्षाका लागि संगठित अपराध न्यूनीकरण गर्नु पर्ने भन्दै कहीँ कतै त्यस्तो देखिए खबर गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “औद्योगिक क्षेत्रमा संगठित अपराध चुनौती पूर्ण बन्न सक्छ, सूचना दिनुहोस् जोकोहीलाई पनि कानूनको दायरामा ल्याउँछौं । चन्दा आतङ्क समाजका लागि एक किसिमको अपराध भएको मन्त्री थापाले बताउनुभयो ।
कार्यक्रममा प्रदेश ३ का कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गरिनुपर्ने औल्याउनु भएको थियो । यस्तै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले दैनिक एक हजार ५०० युवा विदेशिनु देशका लागि विडम्बना भएको भन्दै देशमा नै लगानीमैत्री वातावरण बनाउन सरकार लाग्नु पर्ने बताउनुभयो ।
राज्यले युवालाई ऋणमा सहुलियतसहित सहज रुपमा कर्जाको व्यवस्था गर्नु पर्ने उहाँको भनाइ थियो । सो अवसरमा संघका अध्यक्ष राजाराम रेग्मीले संघले अहिलेसम्म गरेका काम तथा अबका चुनौतीका विषयमा जानकारी गराउनुभएको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०७५