चितवन । चितवन राष्ट्रिय निकुञ्जमा हुने चोरी शिकारी नियन्त्रणको लागि नेपाली सेनाले कुकुर प्रयोग गरेको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा रहेको बटुक दल गणमा चार वटा विशेष तालिम प्राप्त कुकुर राखिएका छन् ।
जर्मन सेफर्ड तथा अन्य जातका कुकुरहरुलाई विशेष तालिम पश्चात् अनुसन्धानको काममा प्रयोग गरिएको बटुक दल गणका गणपति प्रमुख सेनानी समुन्द्र थापाले जानकारी दिनुभयो । विशेष गरि दुर्लभ वन्यजन्तु गैंडाको खाग लुकाएको ठाउँ र खागको तस्करी गर्ने व्यक्तिको पहिचानको लागि ती कुकुरहरु प्रयोग गरिने थापाले बताए ।
कसरामा लुकाएर राखिएको खाग र खाग तस्करीमा संलग्नलाई पक्राउ गर्नका लागि कुकुरबाट डेमो समेत प्रस्तुत गराइएको थियो । कुकुरले सुघेर खाग पत्ता लगाउने र खाग भेटाएपछि आवाज दिने गरेको छ । चार वटा कुकुर मध्ये दुई वटाले खाग खोज्ने र दुई वटाले संलग्न व्यक्तिलाई खोज्ने थापाको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५