विराटनगर । भारतीय दूतावासको विराटनगरस्थित सम्पर्क कार्यालयलाई लक्षित गरी बम विष्फोट गराइएको छ ।
जिल्ला प्रहरी कार्याल मोरङका प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीका अनुसार विराटनगर महानगरपालिका वडानम्बर १३ मा रहेको सम्पर्क कार्यालयलाई लक्षित गरी सोमवार साँझ साढे ८ बजे बम विष्फोट गराइएको हो ।
विस्फोटबाट भारतीय दूतावासको पर्खालमा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ । प्रेसरकुकर बम बिस्फोट भएको प्रहरीले आशंका गरेको छ । बम विष्फोट कसले गराएको भन्ने विषयमा खुलेको छैन । तर, घटनामा विप्लव माओवादीको हात हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
भारतीय दूतावासको विराटनगरस्थित सम्पर्क कार्यालय २०६५ सालमा कोशी बाँध फुटेको बेला बाँध बनाउन भन्दै स्थापना गरिएको थियो । कोशी बाँध निर्माण भइसके पनि अझै कार्यालय हटेको छैन ।
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५