काठमाडौँ । पण्डित श्रीनिवास आयार्चमाथि गोली प्रहार गर्न भारतीय सुटरको प्रयोग गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यस विषयमा प्रहरीले भारतमा गएर अनुसन्धान गरिरहेको छ । प्रहरीको विशेष टोलीले भारतको बिहार राज्यका विभिन्न सहरमा पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले कलडिटेलको विश्लेषण गरी भारतीय प्रहरीसँग मिलेर अप्रेसन गर्ने तयारी गरिरहेका मोरङका एसपी अरुण विसीले भने ।
सुनसरीको बराह नगरपालिका–६ चक्रघटीस्थित आश्रममा बस्दै आएका २६ वर्षीय श्रीनिवास भागवत पुराण वाचनका लागि २४ चैतमा विराटनगर आएका थिए । विराटनगर–१४ जतुवास्थित रामजानकी मन्दिरमा २५ चैतदेखि भागवत पुराण सुरु हुने कार्यक्रम थियो । तर, त्यही बिहान उनीमाथि गोली प्रहार भएको थियो ।
कोखमा गोली लागेका श्रीनिवासको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
को हुन् श्रीनिवास?
सुनसरीको चक्रघटीमा स्थायी आश्रम निर्माण गरेर बस्दै आएका पण्डित श्रीनिवासले ०७२ साउन दोस्रो साता इटहरीमा आन्दोलन चर्काएका थिए । उनकै अगुवाइमा संविधानमा ‘नेपाल हिन्दुराष्ट्र’ राख्न माग गर्दै आन्दोलन भएको थियो ।
चक्काजाममा उत्रिएपछि प्रहरीले पक्राउ गरेको थियो । चार दिन थुनामा राखिएका उनी आन्दोलनलाई शान्तिपूर्ण बनाउने सहमति गरेपछि छुटेका थिए । वैदिक सनातन हिन्दुराष्ट्र नेपाललगायतका विभिन्न संस्थासँग जोडिएर श्रीनिवासले हिन्दु जागरण अभियान चलाउँदै आएका छन् ।
यही क्रममा सिरहाको लहानमा सात दिन आमरण अनशन पनि बसेका थिए । त्यस्तै, ०७१ मा हिन्दुराष्ट्र र राजतन्त्रको पक्षमा धर्ना पनि बसेका थिए । गत २९ फागुनमा पूर्वराजा ज्ञानेन्द्रसमेत उनलाई भेट्न चक्रघटीस्थित आश्रममा पुगेका थिए । दुवैजनाबीच एक घन्टा कुराकानी भएको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख २, २०७५